१३ श्रावण २०८३, बुधबार

सोमबार नरेन्द्र मोदी नेपाल आउँदै



काठमाडौं । बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकमा मोदी काठमाडौं आउने कार्यक्रम भने छैन ।

११ सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै सोमबार बिहान ११ बजे मोदी नेपाल आउन लागेका हनु । प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौंस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् । लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले भने लुम्बिनीमै पुगेर मोदीसँग भेटवार्ता गर्नेछन् । सन् २०१४ यता मोदीको यो पाँचौ नेपाल भ्रमण हो ।