१३ श्रावण २०८३, बुधबार

अपि पावर कम्पनीको साढे ४ लाख कित्ता हकप्रद शेयर लिलामीमा आउने



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अवतरित शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ बिक्रीमा ल्याएको शेयर मध्ये बिक्री हुन नसकेको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउन लागेको हो ।

कम्पनीले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो । चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको छ ।

कम्पनीका अनुसार रितपूर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जनालाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको हो ।

बाँडफाँटमा नपरेको हकभन्दा बढी शेयर माग गर्ने आवेदकहरुको हकप्रद शेयर वापतको रकम जेठ ९ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा प्रतिशेयर रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।