सार्वजनिक बिदाका दिन सञ्चालन सरकारी सवारी प्रहरीको नियन्त्रणमा
काठमाडौं । सरकारले सातामा २ दिन बिदा दिने निर्णय गरेसँगै सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । पेट्रोलियम पदार्थको उपभोग घटाउनको लागि सरकारले जेठ १ गतेदेखि लागू हुनेगरि आइतबार र शनिवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त दिन पनि सरकारी सवारी सञ्चालन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शनिवारको दिन सञ्चालन गरिएका विभिन्न ५ वटा सरकारी सवारी नियन्त्रणमा लिएको हो । सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । सोही बमोजिम शनिबार ५ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिरुवा गाउँपालिकाका २ मोटरसाइकल, शिक्षा कार्यालयको १ मोटरसाइकल, गल्याङ नगरपालिकाको ४ पाङ्ग्रे सवारी साधन र पर्वतको पैयुँ गाउँपालिकाको ४ पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो ।
उक्त सवारी अनुमति विना सञ्चालन गरिएको हुँदा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सवारी साधन आइतबार पनि सार्वजनिक बिदा भएकाले सोमबार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गर्ने प्रहरी कार्यालयले जनाएको छ ।













