३० प्रतिशत हकप्रद निष्काशन प्रस्तावसहित जनरल इन्स्योरेन्सको चौथो साधारण सभा जेठ ३१ गते
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चौंथो वार्षिक साधारण सभा जेठ ३१ गतेका लागि बोलाएको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विषयलाई पनि स्वीकृति प्रदान गर्नेछ ।
सभाले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी१ अर्ब रहेको छ । आगामी एक वर्षभित्र बीमा कम्पनीको निर्देशन बमोजिम कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ ।
पूँजी वृद्धि अभियान चलिरहेको अवस्थामा पूँजी वृद्धिका लागि कतिपय कम्पनीहरुले मर्जरको प्रकृया अघि बढाईसकेको अवस्थामा यस कम्पनीले पनि मर्जर तथा प्राप्ति प्रकृयामा जाने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते एक दिन बुक क्लोज गर्ने भएकाले जेठ १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछ । साधारण सभाको लागि हकप्रदको प्रस्ताव रहेपनि बुक क्लोजको मिति भने हकप्रदको हकमा लागू हुने छैन ।














