कुमारी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय थप
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनामा आवेदन दिने समय थप गरिएको छ । क्यापिटलले जेष्ठ १२ गते, बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गरेको म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईमा अब जेष्ठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
क्यापिटलले जेष्ठ १२ गतेदेखि १० वर्ष अवधि रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई निष्काशन तथा बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो एक बन्दमुखी योजना हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
क्यापिटलको उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने छ । उक्त फण्डको इकाईमा जेठ २६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।
उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
















