सेवोनका अध्यक्ष हमालको ७ बुँदे प्रतिवद्धताः कानुन विपरीत कार्य गर्नेलाई कारबाही गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष रमेश कुमार हमालले शेयर बजारलाई प्रभावकारी बनाउन विभिन्न ७ बुँदे प्रतिवद्धता जाहेर गरेका छन् । धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष हमालले ७ बुँदे प्रतिवद्धता जनाएका हुन् ।
उनले लगानीकर्ताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् । साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्वस्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित रेगटेकमार्फत चुस्त दुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गरिने लगायतका प्रतिवद्धता जनाएका हुन् ।
बोर्डका अध्यक्ष हमालले गरेका ७ प्रतिवद्दता यस्ता छन्ः
१. समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता क्रमशः जनशक्ति सबलीकरण नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगमा जोड दिने,
२. लगानीकर्ताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनुका साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्वस्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित रेगटेकमार्फत चुस्त दुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गरिने,
३. बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याइने,
४. उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमति पत्र प्रदान गर्ने एवं साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आबद्ध गरिने,
५. वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउनुका साथै बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गरिनेछ,
६. बजार सहभागीहरूलाई व्यावसायिक बनाई स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने र बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने नीति लिइनेछ,
७. समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण मार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्य बोर्डको भावी प्राथमिकतामा रहेको छ ।













