सानिमा जनरल इन्स्योरेन्स मर्जर तथा एक्विजिशनमा जाने
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेड मर्जर तथा एक्विजिशनमा जाने भएको छ । सानिमा जनरलले कुनै पनि कम्पनी निर्जीवन बीमा कम्पनीसँग एक अहापसमा गाभ्ने अर्थात् गाभिने तथा प्राप्ति गर्ने भएको हो ।
इन्स्योरेन्स कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा समेत बोलाएको छ । इन्स्योरेन्स कम्पनीको जेष्ठ २९ गते बसेको सञ्चालक समितिको बैठकले अषाढ १५ गते बुधबार, धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही काठमाडौंमा विहान १० बजे विशेष साधारण सभा बोलाएको हो ।
इन्स्योरेन्स कम्पनीको सभाले भविष्यमा कुनैपनि निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्न–गाभिने तथा प्राप्ति गर्ने सम्वन्धी निर्णय गर्न तथा तत् सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न चलअचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्वन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा प्रयोजनार्थ अषाढ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै सभामा सहभागिता जनाउन सक्नेछन् ।













