१२ श्रावण २०८३, मंगलबार

क्रस होल्डिङ भएका बीमा कम्पनीलाई मर्जर वा शेयर बिक्री गर्न बीमा समितिको निर्देशन



काठमाडौं । नियामक निकाय बीमा समितिले क्रस होल्डिङ भएका कम्पनीहरुलाई मर्जर तथा शेयर बिक्रीमध्ये एक विकलप रोज्न निर्देशन दिएको छ । एक भन्दा बढी बीमा कम्पनीमा लगानी भएका लगानीकर्ताले मर्जरमा जान वा शेयर बिक्री गर्न बीमा समितिले निर्देशन दिएको हो ।

बीमा समितिले यी २ विकल्पमध्ये एक विकल्प रोज्न निर्देशन दिएको हो । यदि सो विकल्पमध्ये कुनै पनि विकल्प नारेजेमा व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही गर्ने चेतावनी बीमा समितिले दिएको हो ।

दोहोरो लगानी भएका कम्पनीलाई पत्राचार गर्दै बीमा समितिले यस्तो निर्देशन दिएको हो । बीमा समितिले क्रस होल्डिङ भएका कम्पनीलाई पत्राचार गर्दै २ विकल्पमध्ये एक विकल्प रोज्न निर्देशन दिएको एक बीमा कम्पनीले जनाएको छ । बीमा समितिले गत साता समान शेयरधनी भएका कम्पनीका संचालक र त्यस्ता बीमा कम्पनीका सीईओहरुलाई बोलाएर छलफल गरेको थियो । त्यसको केही समयपछि क्रस होल्डिङ भएका कम्पनीलाई ३ बुँदे लिखित निर्देशन पठाएको बीमा समितिले जनाएको छ ।

बीमा समितिले ९ बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । समितिले ३ निर्जीवन बीमा कम्पनी र ६ जीवन बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो । जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, आइएमई लाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाइफ छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ भने नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा क्रस होल्डिङ रहेको छ ।

क्रस होल्डिङ भएका कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स, आइएमई लाइफ र रिलायवल लाइफ इन्स्योरेन्स, ज्योति लाइफ र सूर्या लाइफ, ज्योति लाइफ र यूनियन लाइफमा क्रस होल्डिङ रहेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स, पु्ररुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा दोहोरो लगानी रेहेको बीमा समितिले जनाएको छ ।

बीमा समितिको निर्देशन अनुसार मर्जर वा क्रस हेल्डिङ नभएका शेयर बिक्री नभएमा ऐन अनुसार नै कारवाही गर्ने समेत बताए । बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मा एउटै लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ । समितिद्वारा जारी उक्त निर्देशिकाअनुसार एउटा लगानीकर्ता वा एकाघरका सदस्यको नाममा १५ प्रतिशतभन्दाबढी लगानी गर्न पाइदैन ।