१५ श्रावण २०८३, शुक्रबार

मन्त्री हेरफेरविरुद्ध नेकपा एसका १० सांसद, अपराधीलाई जस्तो व्यवहार भन्दै असन्तुष्ट



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेरबदल गर्ने बारे संसदिय बैठकको माग गरेका छन् । नेकपा एसका १० जना सांसदले संसदीय दलको बैठक बोलाउन माग गरेका हुन् । पछिल्लो समयमा नेकपा एसका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने बारे ठूलै बहस चलिरहेका बेला १० सांसदले भने संसदीय बैठक बोलाउन माग गरेका हुन् ।

नेकपा एसका मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र समेत पठाएका छन् । उनीहरुले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।

अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका छन् । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो । बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेरको गर्नुपर्ने बताएपछि एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु रुष्ट छन् ।

संसदीय दलको बैठक माग गर्दै लिखित निवेदनमा दिनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरीमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।