शेयर कम पाएको भन्दैं गत्लाङका बासिन्दाद्धारा सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर कम पाएको भन्दैं गत्लाङका बासिन्दाद्धारा सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड



काठमाडौं । सेयर (आईपीओ) बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा नराखेको भन्दैं गत्लाङका केही स्थानीयले सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड गरेका छन् ।

करिब ७० जनाको समूहमा आएका स्थानीय उक्त कार्यलय तोडफोड गरेका हुन । रसुवाले पाउने १० प्रतिशत शेयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका जनाइएको छ ।

स्थानियले कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति गर्नुका साथै कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काउने, कुर्सी जलाउने तथा संरचनाहरु भत्काउने कार्य गरेका हुन । गत्लाङका बासिन्दा आफु अतिप्रभावित क्षेत्रको भएको भन्दै आफुलाई छुट्टै शेयर चाहने बताउदैं आइरहेका थिए । अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन भइसकेको र अवस्था सामान्य रहेको एक स्थानियले जानकारी दिए ।

साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरण अन्र्तगत आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्ने लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गर्न लागेको हो । उक्त आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ खरीदका लागि छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म विक्री खुला हुनेछ ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

स्थानीयमा शेयर विक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड कायम हुनेछ ।


प्रतिक्रिया दिनुहोस्