तीन सातामा साटियो ५६ अर्बको नयाँ नोट, दशैँको लागी १६ अर्बका खुद्रा पैसा जनताको हातमा  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तीन सातामा साटियो ५६ अर्बको नयाँ नोट, दशैँको लागी १६ अर्बका खुद्रा पैसा जनताको हातमा 



काठमाडौं । यो वर्ष दसैँका लागि झन्डै ५६ अर्बका नयाँ नोटहरू साटिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले गत भदौ २६ बाट दसैँका लागि भनेर नयाँ नोट सटही सुविधा दिँदै आएको थियो । राष्ट्र बैंकमा वर्षैभरि नयाँ नोट साट्न पाइने भए पनि दसैँका लागि भनेर नोट सटही गर्ने विशेष सुविधा दिँदै आएको छ । नयाँ नोटले नागरिकमा भने दसैँको उमङ्ग थपेको छ । 

‘अहिलेसम्म साना दरका १६ अर्ब र ठुला दरका करिब ४० अर्ब नयाँ नोट साटिएको छ’, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने । राष्ट्र बैंकले दसैँअघिको नोट सटही काउन्टर शुक्रवार दिउँसो ३ बजे औपचारिक रूपमै बन्द गरेको छ । तर त्यसपछि पनि पहुँचवाला व्यक्तिहरूले रातिसम्मै नयाँ नोट माग्ने भएकाले शुक्रवार रातिसम्म बजारमा थप १ अर्बका नयाँ नोट प्रवाह हुनसक्ने राष्ट्र बैंकको आङ्कलन छ । 

टीका, जमरा, नयाँ लुगा र मासुजस्तै दसैँको उमङ्ग भर्ने अर्को साधन नयाँ नोट हो । मान्छेहरूलाई खुसी राख्न नयाँ नोटको संस्कृतिले ठुलै महत्त्व राख्छ । राष्ट्र बैंकका अधिकारीहरू कहिलेदेखि यसरी दसैँमा नयाँ नोट साट्ने व्यवस्था सुरु गरियो भन्ने यकिन नभएको बताउँछन् । तर वर्षौँदेखि चलेको यो परम्पराले दसैँलाई पहाडको सबैभन्दा महान् पर्वको रूपमा चिनाउन ठुलो मद्दत गरेको छ । 

कार्यकारी निर्देशक नेपालका अनुसार पछिल्ला ३ दिनमा राष्ट्र बैंकमै पुगेर नोट साट्नेहरूको सङ्ख्या दैनिक औसत १ हजार जना थियो । त्यसभन्दा अघिका दिनमा दैनिक ७ सय हाराहारीले नयाँ नोट सटही गरेका थिए । केही वर्षयता राष्ट्र बैंकले थुप्रै बैंक तथा वित्तीय संस्था र सहकारीबाट पनि नयाँ नोट साट्ने सुविधा दिएको छ । राष्ट्र बैंकमा थेगिसक्ने भीड र लामो लाइन हुन थालेपछि बैङ्कहरूलाई यस्तो काम दिन थालिएको हो । 

बैंक र सहकारीका प्रतिनिधिले राष्ट्र बैंकबाट ठुलो परिमाणमा नयाँ नोट लाने र नागरिकलाई सटही सुविधा दिने गरेका छन् । यसले केही वर्षयता राष्ट्र बैंकमा नोट साट्नेको भीड पहिलेजस्तो अस्तव्यस्त त छैन, तर अझै लामो लाइनमा कुर्नुपर्ने बाध्यता भने अन्त्य भएको छैन । 

वर्षभरिमा बजारमा जाने साना दरका नयाँ नोटमध्ये ८० प्रतिशत दसैँको बेलामा मात्रै राष्ट्र बैंकबाट बाहिरिने गरेको छ । यसबाहेक तिहार र छठमा पनि थोरबहुत नयाँ नोट साट्ने गरिएको छ । तराई क्षेत्रमा छठका बेला बढी जसो साना दरका नोट सटही हुन्छ । यसरी बजारमा गएको साना दरका नोटमध्ये ७० प्रतिशत जति बैंकिङ प्रणालीमा फर्किने र त्यसरी फर्केको पैसा बैंकमै अड्किने गरेको छ । ठुला चार्ड पर्वको बेला बाहेक बैंकले साना दरका नोट भुक्तानी गर्दैनन् । 

चेक साट्दा वा फाटफुट भुक्तानी गर्दा बाहेक बैंकहरुले साना दरका नोट ग्राहकलाई फिर्ता गर्दैनन् । ती नोट अर्को वर्ष चार्ड पर्वकै बेला पुनर्वितरण हुन्छ । बैंकहरुले बजारमा नगद प्रवाह गर्न एटिएममा ५०० र १००० दरका नोट मात्रै राख्छन् । चेक साट्दा पनि यिनै ठुला दरका नोटमा भुक्तानी दिन्छन् । बैंकको कारोबार लागत घटाउन र जोखिम कम गर्न भनेर यस्तो गरिन्छ ।

दसैँको अर्थतन्त्र

कार्यकारी निर्देशक नेपालका अनुसार दसैँको बेला बजारमा करिब ७० अर्ब रुपैयाँ मुद्रा प्रदाय बढ्छ । यसको अर्थ दसैँको अर्थतन्त्र ७० अर्ब हाराहारीको छ भन्ने हो । यसमध्ये ८० प्रतिशत भुक्तानीका लागि वित्तीय प्रणालीमा भएको स्रोत प्रयोग हुने र बाँकी २० प्रतिशत मानिसहरूले आफूसँग नगद बचत रहेको सम्पत्ति खर्चने गरेको राष्ट्र बैंकको अनुमान छ । 

दसैँले मानिसहरूलाई नयाँ दरका नोट लिन मात्रै होइन, ठुला दरका पुराना नोट राष्ट्र बैंकमा फर्काउन पनि सघाई रहको छ । देशभर अनलाइन भुक्तानीको प्रवर्द्धन गर्दै हिँडेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकमै पुगेर नगद साट्न खोज्नेहरूका लागि क्युआर वा अन्य विद्युतीय भुक्तानीबाट नयाँ पैसा सटही गर्न पाउने सुविधा नदिनुको पछाडि यही कारण हुनसक्ने बैंकर बताउँछन् । राष्ट्र बैंकले बजारमा भएका ठुला दरका झुत्रे नोटहरू खिँचेर त्यसको साटो नयाँ नोट पठाउन दसैँको सटहीलाई अवसर बनाउँदै आएको छ । 

कतिपयले यसरी नोट छापेर बजारमा पठाउने संस्कृतिका कारण राज्यको छपाइ लागत बढेको भन्दै विरोध पनि गर्दै आएका छन् । नेपालको परम्परागत संस्कृति बनेको दक्षिणा दिने चलनलाई ध्वस्त पार्न नोट फोहोर हुने विषय उठाइएको भनेर अर्का थरीले प्रतिरक्षा पनि गरेका छन् । भ्रष्टाचारमा संसारकै कुख्यात बनेको राज्यले नोट छपाइका कारण बढी लागत लाग्यो भनेर संस्कृति माथि प्रहार गर्न खोजिएको मान्नेहरू पनि छन् । 

यसै बिच राष्ट्र बैंकले सफा नोट नीति जारी गरेर नागरिकलाई सकेसम्म नोटको फोहोर नगर्न भनेका छन् । त्यसो त, नेपालको नोटको आयु दसैँले घटायो भन्ने तर्क त्यति बलियो पनि छैन । अमेरिकी डलरलाई छाड्ने हो भने संसारभरका कागजी नोटको आयु १ देखि ५ वर्षसम्म हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । नेपालमा कागजी नोटको आयु औसत ३ वर्ष हुने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यो विश्व औसतभन्दा बढी हो । 

Tags :

प्रतिक्रिया दिनुहोस्