११ श्रावण २०८३, सोमबार

एक महिनामा २७.३५ प्रतिशतले बढ्यो बीमा कम्पनीहरुको प्रिमियम: ४ महिनामा ५९ अर्ब संकलन, कुनको कति ?



काठमाडौं । संचालनमा रहेका ३८ वटा बीमा कम्पनीहरुले ५९ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले उलव्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा बीमा कम्पनीहरुले ५९ अर्ब ३७ करोड १ लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

असोज मसान्तसम्मको तुलनामा भने कम्पनीहरुको बीमा शुल्क आर्जन २७.३५ प्रतिशतले बढी हो । चालु आवको असोज मसान्तसम्ममा भने कम्पनीहरुको ४६ अर्ब ६१ करोड ९३ लाख १० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

सो अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड ३९ लाख ४२ हजार ३०९ वटा बीमालेख जारी गरेका थिए । यता निर्जीवन बीमा कम्पनीको जारी बीमालेखको संख्या भने ९ लाख १९ हजार १३८ वटा रहेको छ ।

चालु आवको कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख ३८ हजार रुपैयाँ र निर्जीबन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड ८५ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुले असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ३५ अर्ब ७७ करोड ६८ लाख ५८ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

कात्तिक महिनामा मात्रै कम्पनीहरुले १२ अर्ब ७५ करोड ८ लाख १० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये जीवन बीमाको १० अर्ब २३ करोड ४६ लाख ८१ हजार र निर्जीवन बीमाको २ अर्ब ५१ करोड ६१ लाख २९ हजार रुपैयाँ रहेको छ । असोज महिना मात्रैको तुलनामा कात्तिकमा भने कम्पनीहरुको बीमा शुल्क आर्जन प्रतिशतले वृद्धि भएको हो ।

असोज महिनामा मात्रै कम्पनीहरुले १२ अर्ब ६९ करोड ४२ लाख ८७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। सो अवधिमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ९ अर्ब ७३ करोड ३४ लाख ९३ हजार रुपैयाँ र निर्जीवनको २ अर्ब ९६ करोड ७ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

जीवन बीमा कम्पनी

जीवन बीमा तर्फ चालु आवको चार महिनामा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । सो अवधिमा कम्पनीले १२ अर्ब ९१ करोड ४६ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले कात्तिक महिनामा मात्रै १ अर्ब १० करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको लाइफ नेपाल कपोरेशनले ५ अर्ब ७६ करोड ६५ लाख ४२ हजार रुपैयाँ, तेस्रो नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ४९ करोड २ लाख रुपैयाँ शुल्क आर्जन गरेको हो ।

सो अवधिमा युनियन लाइफको बीमा शुल्क २ अर्ब ५० करोड १० लाख, एशियन लाइफको २ कराड २७ लाख, सिटिजनको १ अर्ब ८३ करोड ३ लाख, सूर्या लाइफको १ अर्ब ७१ करोड ८९ लाख, प्राइम लाइफको १ अर्ब ५३ करोड ६४ लाख, मेट लाइफको १ अर्ब ६८ करोड १९ लाख, राष्ट्रिय बीमा संस्थानको १ अर्ब ४८ करोड १३ लाख, सन नेपाल लाइफको १ अर्ब ३४ करोड ८४ लाख, ज्योति लाइफको १ अर्ब १८ करोड ८५ लाख, रिलायबल नेपालको १ अर्ब १४ करोड ३७ लाख, आइएमई लाइफको १ अर्ब १५ करोड १० लाख, रिलायन्स लाइफको १ अर्ब २ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यस्तै कात्तिक मसान्तसम्ममा गुराँस लाइफको बीमा शुल्क ९४ करोड ४३ लाख, सानिमा लाइफको ८१ करोड १८ लाख, प्रभु लाइफको ६७ करोड ३२ लाख, महालक्ष्मी लाइफको ५२ करोड ७३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनी

चालु आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्ममा निर्जीबन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड ८५ लाख ८१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

सो अवधिमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ बीमालेख जारी गरेका थिए । कम्पनीहरुले कात्तिक महिनामा मात्रै २ अर्ब ५१ करोड ६१ लाख २९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । प्राधिकरणका अनुसार कात्तिकमा मात्रै कम्पनीहरुले २ लाख २९ हजार ६७० बीमालेख जारी गरेका छन् ।

कात्तिक मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क राष्ट्रिय बीमा कम्पनीले गरेको छ । सो अवधिसम्म कम्पनीले १ अर्ब ३१ करोड ११ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । सो अवधिसम्म कम्पनीले १५ हजार १२१ बीमालेख जारी गरेको थियो ।

सो अवधिमा शिखर इन्स्योरेन्सले १ अर्ब २७ करोड ३ लाख ७७ हजार रुपैयाँ, सगरमाथाले १ अर्ब ६ करोड ८७ लाख ८३ हजार र नेको इन्स्योरेन्सले १ अर्ब ४ करोड २६ लाख बीमा शुल्क आर्जन गरेका छन् । कात्तिक मसान्तसम्म यी दुवै कम्पनीले क्रमशः ७८ हजार ७७६ र ९५ हजार ८१८ बीमालेख जारी गरेका थिए ।

यस्तै, सिद्धार्थले ९४ करोड ५५ लाख ७२ हजार, हिमालयन एभरेष्टले ९० करोड ९६ लाख ४३ हजार, एनएलजीले ७८ करोड ७ लाख ४३ हजार, प्रिमियरले ६९ करोड ४६ लाख १४ हजार, लुम्बिनी जनरलले ६६ करोड ५५ लाख ४० हजार, आईएमई जनरलले ६१ करोड १८ लाख ५८ लाख, अजोडले ६० करोड ६८ लाख ६५ हजार, नेपाल इन्स्योरेन्स कम्पनीले ५५ करोड ३३ लाख ७८ हजार, ओरियण्टल इन्स्योरेन्सले ५० करोड २९ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरि कात्तिक मसान्तसम्म प्रभु इन्स्योरेन्सले ४८ करोड ९२ लाख ५० हजार, प्रुडेन्सियलले ४३ करोड ८७ लाख ९४ हजार, नेशनलले ३७ करोड १६ लाख ४७ हजार, सानिमा जनरलले ३० करोड १९ लाख ७८ हजार, जनरल इन्स्योरेन्सले २६ करोड ५० लाख ५० हजार, सानिमा जिआईसी ११ करोड ६० लाख ७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।