११ श्रावण २०८३, सोमबार

मुद्दती खातामा लगानी गरेपछि मात्र बैंकले बीमकलाई व्यवसाय दिने परिपाटीले अस्वस्थ प्रतिस्पर्धा नित्यायो



काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंसिर २६ गते बीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सहभागिले बैकहरूले मुद्दती खातामा लगानी गरेपछि मात्र बीमा व्यवसाय बीमकलाई दिने परिपाटीले गर्दा बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको बताएका छन् ।

सहभागीहरूले निर्जीवन बीमा अन्तर्गत बालबालिकाको बीमामा समस्या देखिएकाले जीवन बीमालेख निर्देशिका, २०७८ संशोधन गर्नुपर्ने, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकार प्रत्यायोजन नभएको, बीमा अभिकर्ताहरूका लागि तालिमको व्यवस्था नभएको, सरकारी निकायहरूले बीमा प्रयोजनका लागि कागजात दिन आनाकानी गर्ने गरेको, कृषि बीमाको सिफारिश लिँदा झण्झट व्यहोर्नु परेको लगायतका विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दैं बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरू बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने बताएका छन् । सिलवालले ऐनले नेपाल बीमा प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेकाले अब बीमा सम्बन्धी सबै विषयमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्ने बताएका हुन ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूलाई प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न, बीमा दाबी भुक्तानी समेत प्रदेश तथा शाखा कार्यालयबाट नै गर्ने व्यवस्था गर्न, कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न निर्देशन दिएको बताए ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट बीमकको अनुगमन, निरीक्षण तथा नियमनका साथै प्राधिकरणबाट हुने अधिकाङ्श कार्य हुने भएकाले काम छिटोछरितो हुनुका साथै सेवाग्राहीको समय समेत बचत हुने उल्लेख गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुङ्गेल (अधिकारी) तथा प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।