मर्जर सहमति पाएका बीमा कम्पनीहरुको एकीकृत कारोबारका लागि छैन सुरसार, किन सार्दैछन् मिति ?
काठमाडौं । मर्जर सम्झौता गरेका गरेका अधिकांश बीमा कम्पनीहरुले एकीकृत कारोबारका लागि सुरसार देखाएका छैनन् । पछिल्लो समय कम्पनीहरुले पूर्वनिर्धारित मिति समेत सार्दै आएका छन् ।
नेपाल बीमा प्राधिकरणबाट मर्जर सहमति पाएका १९ मध्ये १५ वटा बीमा कम्पनीहरुले एकीकृत कारोबारको मिति सार्न थालेका हुन् । कम्पनीहरुले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) लगायतका कार्यहरु भईरहेको र केही काम अन्तिम चरण पुगेको भन्दै यसअघि तोकिएको एकीकृत कारोबारको मिति सार्न थालेका छन् ।
तत्कालिन बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्न निर्देशन जारी गरेको थियो । समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब र निर्जीबन बीमा कम्पनीहरुको साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजी आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुवीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसंग सामञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरेको हो ।
सोही अनुुसार जीवन तथा निर्जीबन बीमा कम्पनीहरुले पनि पुँजी वृद्धि गर्न अन्य कम्पनीसंग मर्जर सम्झौता गरे । पुँजी वृद्धिका लागि १९ वटा बीमा कम्पनीहरुले एक आपसमा गाभिनका लागि मर्जर सम्झौता गरेका हुन् । सोमध्ये १० वटा निर्जीबन बीमा र ९ वटा जीवन बीमा कम्पनीरहेका छन् । ति कम्पनीहरुलाई तत्कालिन बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण)ले पनि मर्जरमा जानका लागि सैद्धान्तिक सहमति पनि दिएको थियो ।
मर्जर सहमति पाएका कम्पनीहरुमध्ये हालसम्म चार वटाले मात्रै एकीकृत कारोबार गरेका छन् । हालसम्म हिमालयन जनरल र एभरेष्ट, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार गरिसकेका छन् । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले गत साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार थालेका हुन् । सानिमा र जनरल इन्स्योरेन्सले पनि गत कात्तिक ७ गतेदेखि सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
मर्जर सम्झौता गरेका अन्य केही कम्पनीहरुले बीमा प्राधिकरणमा एकीकृत कारोबारका लागि अनुमानित मिति बुझाएको बताइएको छ ।
मर्जर सम्झौता गरेका सूर्या लाइफ र ज्योति लाइफले मंसिर १५ गतेभित्र एकीकृत कारोबार गर्न प्राधिकरणमा मिति बुझाएका थिए । तर, कम्पनीहरुले हालसम्म पनि एकीकृत कारोबार सुरसार देखाएका छन् । यी दुवै कम्पनीले मर्जरमा जानका लागि असार ३० गते सम्झौता गरेका थिए । बीमा प्राधिकरणले पनि मर्जरका लागि गत असार १३ गते नै सैद्धान्तिक सहमति दिएको थियो । यसअघि दुवै कम्पनीले असोजदेखि एकीकृत कारोबार सुरु गर्ने बताउँदै आएका थिए ।
गत वैशाख २९ गते मर्जर सम्झौता गरेका गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको पनि हालसम्म एकीकृत कारोबार हुन सकेको छैन । मर्जरमा जानका लागि यी तीन वटा कम्पनीहरुले मर्जरका लागि बीमा प्राधिकरणबाट गत जेठ ३ गते सैद्धान्तिक सहमति पाएका थिए । कम्पनीहरुले आगामी पुसदेखि एकीकृत सुरु गर्ने तयार थालेको बताइएको छ । यसअघि कम्पनीहरुले असोजदेखि नै एकीकृत कारोबार सुरु गर्ने प्राधिकरणमा सूचना दिएका थिए ।
यस्तै, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी बिच पनि मर्जरको सहमति भएको छ । कम्पनीले बीमा प्राधिकरणबाट गत असार २९ गते पहिलो पटक सैद्धान्तिक सहमति पाएका थिए । यी कम्पनीले पुस २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने जनाउँदै आएका छन् ।
त्यसैगरि गत असार ३० गते नै मर्जर सम्झौता गरेका महालक्ष्मी लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले पनि एकीकृत कारोबार गर्न सकेका छैनन् । यी दुवै कम्पनीले मर्जरमा जानका लागि गत असार ३० गते सम्झौता गरेका थिए । मर्जरको लागि गत साउन १ गते समितिबाट मर्जरको लागि प्राधिकरणबाट सैद्धान्तिक सहमति पाएका हुन् । कम्पनीहरूले आगामी पुसदेखि मात्रै एकीकृत कारोबार सुरु गर्ने जनाएका छन् ।
मर्जर सम्झौता गरेका निर्जीबन बीमा कम्पनीहरुको एकीकृत कारोबार कहिले ?
गत असार ३२ गते मर्जरमा जानका लागि सम्झौता गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले पनि एकीकृत कारोबारका लागि मिति तय गरेका छैनन् । यी दुवै कम्पनीले गत साउन १ गते मर्जरको लागि प्राधिकरणबाट सैद्धान्तिक सहमति पाएका थिए । तर, कम्पनीहरूले आगामी फागुनदेखि मात्रै एकीकृत कारोबार गर्ने बताउँदै आएका छन् ।
त्यसैगरि प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले मर्जरमा जानका लागि गत असार २७ गते सम्झौता गरेका छन् । मर्जरमा जानका लागि यी दुवै कम्पनीहरुले बीमा प्राधिकरणबाट गत साउन २८ गते सैद्धान्तिक सहमति पाएका थिए । कम्पनीहरुले डिडीए लगायतको कामहरु अन्तिम चरण रहेकाले माघ दोस्रो साताभित्र एकीकृत कारोबार सुरु गर्ने बताइएको छ ।
यता, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जरमा जानका लागि गत असार ३० गते सम्झौता गरेका छन् । यी दुवै कम्पनीहरूले पनि बीमा प्राधिकरणबाट गत असार ३० गते सैद्धान्तिक सहमति लिएका थिए । तर, एकीकृत कारोबार भने माघ देखि नै सुरु गर्नेगरि तयार भएको लुम्बिनी जनरल इन्स्योरेन्सका सूचना अधिकारी देवेन्द्र कोइरालाले बताएका छन् । उनका अनुसार एकीकृत कारोबारका लागि सबै प्रक्रिया पुरा गर्ने चरण रहेको जानकारी दिए ।













