मर्जर प्रस्ताव र लाभांश पारितका लागि सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो पुस २९ गते २१औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको पुस ९ गते बसेको संचालक समितिको बैठकले पुस २९ गते, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डम, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको छ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सभामा सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव पारित हुनेछ । यसका साथै यी दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कायम गरी व्यवसाय गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।
कम्पनीका सभाले गत आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाहसहित विवरण लगायतका एजेण्डा पारित हुनेछ ।सोही सभाले आव २०७९/८० को का लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसका आधारमा पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भएका सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













