२० श्रावण २०८३, बुधबार

घट्यो वाणिज्य बैंकहरुको निक्षेप: कर्जा प्रवाह पनि स्थिर, सीडि रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेपमा गिरावट आएको छ । पछिल्लो एकदिनमै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ अर्ब रुपैयाँले घटेको हो ।

नेपाल राष्ट्र बैंकको पुस ९ र १० गतेको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप घटेको देखिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५२ खर्ब ७० बाट घटेर ५२ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको हो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने स्थिर देखिएको छ । पुस ९ गतेको तथ्याङ्कमा ४७ खर्ब ६० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह पुस १० गतेपनि सोही कायम भएको छ।

यस्तै, सो अवधिमा बाणिज्य बैंकहरुको निक्षेप पनि घटेको देखिएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार निक्षेप १ अर्ब रुपैयाँले घटेर ४६ खर्ब ४३ अर्ब कायम भएको छ । पुस ९ गतेको तथ्याङ्कमा भने वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो ।

सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि स्थिर रहेको छ । पुस ९ गते ४२ खर्ब १४ अर्ब रुपैयाँ रहेकोमा पुस १० गते पनि सोही कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा सीडि रेसियो भने ८६.१९ प्रतिशतबाट बढेर ८६.२० प्रतिशत पुगेको छ ।