सिद्धार्थ बैंकको दुई दशक, प्राकृतिक विस्तारबाट कसरी भयो देशकै ठूलामध्ये एक ?
काठमाडौं । दिगो बृद्धि, पारदर्शिता, नवप्रवर्तन, निष्ठा र ग्राहक केन्द्रित भनेर मूलतः पाँच ‘कोर भ्यालुज’ (मूलभूत सिद्धान्त) बोकेका सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २० औं वर्ष पार गरेको छ । यही आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण हेर्ने हो भने सिद्धार्थ नेपालका केही ठूला बैंकहरुको सूचीमा पर्छ ।
अहिले सिद्धार्थ बैंक निक्षेपमा छैटौं, कर्जामा पाँचौं, सम्पत्तिमा छैटौं र पूँजी र नेटवर्थमा १३ औं नम्बरमा छ । कर्जा सुरक्षणमा कृषि विकास बैंकपछि दोस्रो र निजी क्षेत्रको पहिलो बैंक बनेको छ । सन् २००२ मा स्थापना भएको यो बैंक २००७ को मध्येतिरसम्म ६० करोड पूँजी र ७९ करोड नेटवर्थमा चलेको थियो । त्यसयताका १५ वर्षमा बैंकको पूँजी १२ अर्ब ५२ करोड ४४ लाख नाघेको छ । नेटवर्थ त झन् २२ अर्ब १५ करोड पुगेको छ ।
विसं. २०७३ असाढमा विजनेश युनिभर्सल डेभेलपमेण्ट बैंक प्राप्ति गरेको सिद्धार्थले त्यसबाहेक कुनै मर्जर वा प्राप्ति नगरी स्वच्छन्द रुपमा व्यवसाय फैलाइरहेको छ । १५ वर्षअघि ६ अर्ब ६३ करोड रहेको निक्षेप अहिले २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । यही बीचमा ६ अर्ब ३२ करोडको कर्जा बढेर र १ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । यही १५ वर्षमा बैंकका ग्राक संख्या १४ हजारबाट बढेर १६ लाख १४ हजार ५ सय हाराहारी पुगेका छन् ।
लगानीकर्तालाई आकर्षक प्रतिफल दिने बाणिज्य बैंकहरुमध्येमा सिद्धार्थ एउटा हो । सुरुआतको ५ वर्षमा वार्षिक औसत १० प्रतिशत प्रतिफल आर्जन गरेको बैंकले पछिल्लो पटक राष्ट्र बैंकले पूँजी बृद्धि गर्नुअघि औसत २२ प्रतिशत हाराहारीसम्म प्रतिफल कमाउन थालेको थियो । पूँजी बढेपछि पनि पछिल्ला ५ वर्षमा यो दर १५ प्रतिशतको छेउछाउउ छ । जुन, प्रतिस्पर्धी धेरै बैंकभन्दा राम्रो हो ।

प्रतिसेयर आम्दानी पनि सुरुआति ५ वर्षमा १० रुपैयाँ ७३ पैसा रहेकोमा पछिल्ला ५ वर्षमा २३ रुपैयाँ ६६ पैसा पुगेको छ । पूँजीबृद्धि अघिको अवस्थामा ३५ रुपैयाँ हाराहारी पुगेको थियो । लगानीकर्ताले मात्रै होइन, राज्यले पनि यो बैंकबाट राम्रो आम्दानी गरेको छ । सुरुआति ५ वर्षमा जम्मा साढे ९ करोड राजस्व बुझाएको यो बैंकले पछिल्ला ५ वर्षमा १० अर्ब १२ करोड ३० लाख राजस्व बुझाएको छ ।
बैंकले सामाजिक क्षेत्रमा पनि ब्यापक लगानी बढाउन थालेको छ । सुरुआति ५ वर्षमा केवल १ लाख ३० हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेको यो बैंकले अहिले सयौं गुणा बढाएको छ । वितेका ५ वर्षमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा १० करोडभन्दा धेरै रकम खर्च गरेको छ, यो सुरुआति ५ वर्षको तुलनामा ७७० गुणाभन्दा धेरै हो ।
चुस्त व्यवस्थापन, अहस्तक्षेपकारी सञ्चालक समिति र दक्ष कर्मचारीले बैंकलाई कम पूँजी र सानो सञ्जालबाटै धेरै ठूलो कारोबार गर्ने अवस्थामा पुर्याएको छ । संस्थागत सुशासन र बजारमा स्वच्छ प्रतिस्पर्धामा उत्रिएको सिद्धार्थ बैंक नियामकका दृष्टिमा पनि तुलनात्मक रुपले सबल र स्वच्छ देखिन्छ ।
आफूभन्दा झण्डै दोब्बर इतिहास भएको नबिल, बाणिज्य बैंक नै गाभेको एनआईसी एसिया, झण्डै दर्जन संस्था मिलेर बनेको ग्लोबल आईएमई र सरकारी ढुकुटीको पैसा चलाउने राष्ट्रिय बाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्न प्राकृतिक बृद्धिबाटै सक्षम भएको सिद्धार्थ बैंकको यो रफ्तार हेर्न लायक छ । तर यो शाख जोगाउने दायित्व बैंकको सञ्चालक समिति र व्यवस्थापनमाथि सधैं रहने छ ।













