११ श्रावण २०८३, सोमबार

बढ्न थाल्यो मोटर बीमाको व्यवसायः साढे ५ अर्ब बीमाुशल्क आर्जन, कुन प्रदेशबाट कति ?



काठमाडौं । मोटर बीमा गर्नेहरुको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय निर्जीवन बीमा अन्तर्गत मोटर बीमामा वृद्धि भएको हो ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको तथ्याङ्क अनुुसार मंसिर महिनासम्म मोटर बीमा मार्फत कम्पनीहरुले ५ अर्ब ४८ करोड ११ लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार गत कात्तिक महिनाको तुलनामा २३.२३ प्रतिशतले बढी हो । कात्तिक महिनामा मोटर बीमा मार्फत कम्पनीहरुले ४ अर्ब ४४ करोड ७५ लाख ४३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । प्राधिकरणको प्रदेशगत विवरण अनुसार चालु आवको मंसिर मसान्तसम्ममा मोटर बीमा गर्ने कम्पनीहरुले ७ लाख २३ हजार ६४८ बीमालेख जारी गरेका थिए ।

विवरण अनुसार मंसिर महिनासम्ममा सबैभन्दा धेरै बागमती प्रदेशमा देखिएको छ । सो अवधिमा बागमती प्रदेशमा ३ लाख ४२ हजार ७४८ बीमालेख जारी भएको थियो । सो बीमालेख मार्फत कम्पनीहरुले २ अर्ब ९२ करोड ९१ लाख २० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत कात्तिकमा भने सो प्रदेशमा मोटर बीमा गर्ने कम्पनीहरुले २ लाख ७६ हजार ४३४ बीमालेख बिक्री गरि २ अर्ब ३८ करोड ४६ लाख ९२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवको मंसिर महिनामा सबैभन्दा धेरै मोटर बीमा गर्ने दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ । सो प्रदेशमा मंसिर मसान्तसम्ममा मोटर बीमाबाट कुल ७८ करोड १७ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो महिनासम्म लुम्बिनी प्रदेशमा १ लाख १२ हजार ४८ बीमालेख जारी भएको थियो । गत कात्तिकमा भने सो प्रदेशमा मोटर बीमा गर्ने कम्पनीहरुले ८७ हजार ८३५ बीमालेख बिक्री गरि कुल ६३ करोड ७० लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

सो अवधिमा सबैभन्दा कम मोटर बीमा शुल्क कर्णाली प्रदेशबाट आर्जन भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । कर्णालीमा मोटर बीमाबाट ६ करोड १७ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो प्रदेशमा ७ हजार ९६६ मोटर बीमालेख जारी भएको थियो ।

यस्तै, प्रदेश नम्बर १ बाट मोटर बीमा मार्फत कुल ५२ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो प्रदेशमा मोटर बीमा गर्ने कम्पनीहरुले ८४ हजार १८५ बीमालेख जारी गरेका थिए ।

त्यसैगरि गण्डकी प्रदेशबाट ५१ करोड १६ लाख २७ हजार रुपैयाँ मोटर बीमा शुल्क आर्जन भएको छ । गण्डकीमा मोटर बीमा गर्ने कम्पनीहरुले ७७ हजार ८२३ बीमालेख जारी गरेका थिए ।

चालु आवको मंसिर मसान्तसम्ममा मधेश प्रदेशबाट कुल ४२ करोड ६८ लाख ८४ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो प्रदेशमा मोटर बीमा गर्ने कम्पनीहरुले ५७ हजार ५२२ बीमालेख जारी गरेका थिए ।

यता, सुदुरपश्चिम प्रदेशबाट भने कुल २२ करोड ६१ लाख ८ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । सो प्रदेशमा मोटर बीमा गर्ने कम्पनीहरुले मंसिरसम्म कुल ३९ हजार ४३ बीमालेख जारी गरेका थिए ।