एक महिनामा २२% ले बढ्यो कृषि तथा बाली बीमाको व्यवसाय, साढे ८५ करोड बीमाशुल्क आर्जन
एक महिनामा २२% ले बढ्यो कृषि तथा बाली बीमाको व्यवसाय, साढे ८५ करोड बीमाशुल्क आर्जन
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कृषि तथा बाली बीमाबाट साढे ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।
कम्पनीहरुले कृषि बीमा अन्तर्गतबाट चालु आवको मंसिर महिनासम्ममा ८५ करोड ६० लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको तथ्याङ्क अनुसार सो अवधिमा कम्पनीहरुले ६८ हजार ३४ कृषि तथा बाली बीमालेख बिक्री गरेका छन् ।
गत कात्तिक महिनाको तुलनामा भने कृषि तथा बाली बीमा व्यवसाय २२.३१ प्रतिशतले बढी हो । कात्तिक महिनासम्ममा कृषि तथा बाली बीमा गर्ने कम्पनीहरुले ६९ करोड ९८ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणका अनुसार गत कात्तिक कम्पनीहरुले ५६ हजार ४३० बीमालेख बिक्री गरेका थिए ।
चालु आवको मंसिर महिनासम्म कृषि तथा बाली बीमा अन्तर्गत बागमती प्रदेशबाट बीमा शुल्क आर्जन भएको छ । सो अवधिमा बागमतीबाट ३३ करोड ३९ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको हो । बागमती प्रदेशमा कृषि तथा बाली बीमा अन्तर्गत कम्पनीहरुले सो अवधिमा २६ हजार ९१३ बीमालेख जारी गरेका थिए ।
बागमती पछि कृषि तथा बाली बीमामा लुम्बिनी प्रदेशको हिस्सा बढी देखिएको छ । चालु आवको मंसिरसम्ममा लुम्बिनी प्रदेशबाट सो बीमा मार्फत १४ करोड ४३ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो अवधिमा कृषि तथा बाली बीमा गर्ने कम्पनीहरुले १३ हजार ३६४ बीमालेख बिक्री गरेका थिए ।
प्राधिकरणको प्रदेशगत तथ्याङ्क अनुसार गण्डकीबाट १२ करोड ९ लाख ६८ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो अवधिमा कृषि तथा बाली बीमा गर्ने कम्पनीहरुले ७ हजार ९९६ बीमालेख बिक्री गरेका थिए ।
यस्तै, प्रदेश नम्बर १ मा कृषि तथा बाली बीमाबाट ११ करोड ९६ लाख ३९ हजार रुपैयाँ, मधेश प्रदेशबाट ८ करोड ९९ लाख ८५ हजार, सुदुरपश्चिमबाट ३ करोड २१ लाख २९ हजार र कर्णालीबाट १ करोड ५० लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी प्रदेशहरुमा कृषि तथा बाली बीमा गर्ने कम्पनीहरुले क्रमशः ९ हजार ९१५, ५ हजार ३८, २ हजार ६१७ र २ हजार १९१ बीमालेख बिक्री गरेका थिए ।













