लाभांश सुरक्षित गर्न नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज २ लाख ६३ हजार कित्ता बिक्री, मूल्य कति ?
काठमाडौं । आइतबार लगानीकर्ता नबिल बैंकको सेयरमा झुम्मिएका छन् । आज बैंकको सर्वाधिक सेयर कारोबार भएको हो ।
साताको पहिलो कारोबार दिन बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । सो दिन बैंकको २ लाख ६३ हजार १५९ कित्ता सेयर किनबेच भएको छ ।
आज बैंकको सेयर मूल्य भने झिनो वृद्धि भएको छ । सो दिन बैंकको सेयर मूल्य १.३६ प्रतिशत अर्थात प्रतिकित्ता ११ रुपैयाँ ५० पैसाले बढेर ८५४ रुपैयाँ ५० पैसा पुगेको छ ।
लाभांश सुरक्षित गर्न लगानीकर्ता बैंकको सेयरमा झुम्मिएका हुन् । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सोही प्रस्तावित लाभांशलाई सभालाई वितरणयोग्य बनाउनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसका कारण आजसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













