बैदेशिक रोजगारमा गएका कामदारको साढे १२ लाख बीमा पोलिसी सक्रिय, कम्पनीले उठाए डेढ अर्ब प्रिमियम
बैदेशिक रोजगारमा गएका कामदारको साढे १२ लाख बीमा पोलिसी सक्रिय, कम्पनीले उठाए डेढ अर्ब प्रिमियम
काठमाडौं । वैदेशिक रोजगार बीमा साढे १२ लाख बीमालेख सक्रिय रहेको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको तथ्याङ्क अनुसार १२ लाख ४९ हजार ७६२ बीमालेख सक्रिय देखिएको हो ।
बैदेशिक रोजगारमा जाने नेपाली कामदारले अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्छ । सोहीअनुसार गरिएको बीमामा यतिका पोलिसी सक्रिय देखिएको हो ।
चालु आर्थिक वर्ष २०७९/८० मा मंसिर महिनासम्ममा बैदेशिक रोजगार बीमा बापत १ अर्ब ४३ करोड ९४ लाख ५२ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको प्राधिकरणले जनाएको छ । जुन गत कात्तिक महिनासम्मको तुलनामा भने २३.६९ प्रतिशतले बढी हो । गत कात्तिक महिनामा भने कम्पनीहरुले बैदेशिक रोजगार बीमाबाट १ अर्ब १६ करोड ३७ लाख ४५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
प्राधिकरण तथ्याङ्कका अनुसार मंसिर महिनामा मात्रै २७ करोड ५७ लाख ७ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो अवधिमा ६५ हजार ८१५ बैदेशिक बीमालेख सक्रिय देखिएको छ । त्यसको दायित्व (बीमाङ्क रकम) १ खर्ब ४६ अर्ब ३६ करोड २० लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ । पछिल्लो पटक नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी, मेट लाइफ, सुर्या लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले बैदेशिक रोजगार बीमा गरिरहेका छन् ।
सो अवधिमा बैदेशिक रोजगार बीमाबाट सन नेपाल लाइफले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले मंसिर महिनासम्ममा कुल ६१ करोड ६५ लाख ४४ हजार रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरको हो । सो अवधिसम्ममा कम्पनीले कुल ९७ हजार ११ बैदेशिक बीमालेख बिक्री गरेको छ । कम्पनीले चालु आवको कात्तिक महिनामा भने ५१ करोड ७२ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
दोस्रो स्थानमा रहेको सूर्या लाइफले भने १८ करोड ४२ लाख ८७ हजार रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको हो ।
चालु आवको पाँच महिनामा बैदेशिक रोजगार बीमाबाट रिलायन्स लाइफले सबैभन्दा बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले ६१ लाख ८९ हजार रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार मंसिर महिनासम्ममा आइएमई लाइफले १३ करोड १२ लाख ८ हजार, ज्योति लाइफले १२ करोड ९८ लाख, सानिमा लाइफले १२ करोड ५० लाख ५७ हजार, सिटिजन लाइफले १० करोड ३१ लाख ३३ हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
यस्तै, सो अवधिमा बैदेशिक रोजगार बीमाबाट नेपाल लाइफले ५ करोड ९७ लाख ५ हजार रुपैयाँ, रिलायबल लाइफले ५ करोड ७४ लाख २१ हजार, नेशनल लाइफले १ करोड ७२ लाख ४४ हजार र प्रभु लाइफले ८७ लाख ९६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।













