११ श्रावण २०८३, सोमबार

नयाँ लघुबीमा आउने भएपछि बल्ल तातिए पुराना ठुला कम्पनी, ४१२ प्रतिशतले बढाए लघुबीमा व्यवसाय

नयाँ लघुबीमा आउने भएपछि बल्ल तातिए पुराना ठुला कम्पनी, ४१२ प्रतिशतले बढाए लघुबीमा व्यवसाय



काठमाडौं । पछिल्लो समय लघुबीमा व्यवसाय बढ्न थालेको छ । नयाँ लघुबीमा कम्पनी स्थापना हुन थालेपछि ठुला कम्पनीहरु व्यवसाय बढाउन ताएिका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को मंसिर महिनासम्ममा कम्पनीहरुको लघुबीमा बीमा शुल्क आर्जन ४१२.२४ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कका अनुसार गत साउनको महिनाको तुलनामा लघुबीमा व्यवसाय बढेको देखिएको हो ।

चालु आवको पाँच महिनामा जीवन तथा निर्जीवन लघुबीमा व्यवसायबाट कुल ९८ करोड ४३ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । तर, चालु आवको पहिलो साउन महिनामा १९ करोड २१ लाख ७४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

प्राधिकरणको तथ्याङ्क अनुसार पुराना ठुला कम्पनीहरुले लघुबीमा व्यवसाय आक्रामक बनाएको देखिन्छ । नेपालमा लघुबीमा संचालनका लागि प्राधिकरणले छुट्टै कम्पनीहरुले स्थापना गर्न लाईसेन्स दिन लागेको छ । नयाँ लघुबीमा कम्पनीहरुले आउने भएपछि व्यवसाय बढाएको विज्ञहरुले जनाएका छन् । यसअघि लघुबीमा बीमामा खास राम्रो काम हुन सकिरहेको थिएन । प्राधिकरणले हालै मात्र ७ वटा लघुबीमा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न कम्पनीहरु छनोट गरेको छ ।

जीवन लघुबीमा व्यवसाय ५२४ प्रतिशतले बढ्यो, साढे ४३ लाख बीमा पोलेसी सक्रिय

जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय उल्लेख्य मात्रामा वृछि भएको छ । जीवन बीमा कम्पनीहरुले लघुबीमाबाट चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामै झण्डै १ अर्ब बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीहरुले लघुबीमा व्यवसायबाट चालु आवको मंसिर महिनासम्म ९५ करोड ३१ लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । जुन गत साउन महिनाको तुलनामा ५२४.२८ प्रतिशतले बढी हो । चालु आवको पहिलो महिना अर्थात साउनमा भने कम्पनीहरुले यो व्यवसायबाट ३८ करोड ९६ लाख ४१ हजार रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार चालु आवको मंसिर महिनासम्ममा लघुबीमा तर्फ कुल ४३ लाख ५७ हजार ८६ बीमालेख सक्रिय देखिएका छन् । गत साउन महिनामा भने लघु जीवन बीमा तर्फ ३६ लाख ४७ हजार २०७ बीमालेख सक्रिय रहेको थियो ।
प्राधिकरणका अनुसार लघु जीवन बीमाबाट भदौ महिनामा ३८ करोड ९६ लाख ४१ हजार रुपैयाँ, असोजमा ५७ करोड ८३ लाख ८१ हजार र कात्तिक ७७ करोड ५ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

लघु जीवन बीमाबाट मंसिर महिनासम्ममा सबैभन्दा धेरै बीमा शुल्क बागमती प्रदेशमा संकलन भएको छ । सो अवधिमा बागमतीमा मात्रै ६७ करोड १० लाख ९२ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको हो । सो प्रदेशमा कुल ३३ लाख ५६ हजार ६४५ बीमालेख सक्रिय रहेका छन् ।

दोस्रो स्थानमा रहेको प्रदेश १ बाट ८ करोड ३८ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो प्रदेशमा लघु जीवन बीमा तर्फ कुल २ लाख ५७ हजार ३८३ बीमालेख सक्रिय रहेका छन् । तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट भने ८ करोड ७ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । लुम्बिनीमा लघु जीवन बीमा तर्फ कुल २ लाख ८५ हजार ५३१ बीमालेख सक्रिय देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशमा ६ कारेड १८ लाख ७१ हजार रुपैयाँ, सुदुरपश्चिममा ३ करोड ३५ लाख ३१ हजार, मधेशमा १ करोड १२ लाख ९४ हजार र कर्णाली प्रदेशमा १ करोड ७ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो अवधिमा यी प्रदेशमा क्रमशः २ लाख ६७ हजार ५८४, १ लाख ४२ हजार ९१५,२७ हजार ८५३ र १९ हजार १७५ बीमालेख सक्रिय देखिएका छन् ।

पाँच महिनामा निर्जीवन लघुबीमा व्यवासय ४०० प्रतिशतले वृद्धि

चालु आवको पाँच महिनामा निर्जीवन लघु बीमा व्यवसाय झण्डै ४ सय प्रतिशतले वृद्धि भएको छ । मंसिर मसान्तसम्म निर्जीवन लघुबीमा व्यवसाय ३९६.२५ प्रतिशतले बढेको हो ।

प्राधिकरणका अनुसार सो अवधिमा कम्पनीहरुले निर्जीवन लघुबीमाबाट ३ करोड १२ लाख ७९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । सो अवधिमा देशभर कुल १५ हजार ८५ लघुबीमा बीमालेख बिक्री भएका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निर्जीवन लघुबीमा व्यवसायबाट भदौ महिनामा १ करोड ३७ लाख ४९ हजार रुपैयाँ, असोजमा २ करोड ८ लाख ९१ हजार र कात्तिक महिनामा २ करोड ६३ लाख २६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

प्रदेशगत विवरणअनुसार सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क बागमती प्रदेशबाट संकलन भएको छ । मंसिर मसान्तसम्ममा बागमतीबाट ९२ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशबाट निर्जीवन बीमा व्यवसाय मार्फत ९२ लाख ६४ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको हो ।

यस्तै, सो अवधिमा प्रदेश १ बाट भने ५१ लाख ६८ हजार, लुम्बिनी प्रदेशबाट ४३ लाख ९२ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको छ । त्यसैगरि सुदुरपश्चिम प्रदेशबाट २० लाख ३० हजार रुपैयाँ, कर्णालीबाट ७ लाख ३८ हजार र मधेश प्रदेशबाट ४ लाख ४ हजार रुपैयाँ निर्जीवन लघुबीमा बीमा शुल्क संकलन भएको छ ।