स्वास्थ्य बीमा गर्नेको संख्या ६२ लाख नाघ्यो, अझै ७९.४४ प्रतिशत जनता दायरा भन्दा बाहिर
स्वास्थ्य बीमा गर्नेको संख्या ६२ लाख नाघ्यो, अझै ७९.४४ प्रतिशत जनता दायरा भन्दा बाहिर
काठमाडौं । सरकारले देशभर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । स्वास्थ्य बीमा बोर्ड गठन गरि २०७२ सालदेखि कार्यक्रम सुरु गरेको हो ।
हाल देशका सातै वटा प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । सुरुवात चरणमा स्वास्थ्य बीमाबारे नागरिकले खासै चासो नदिएपनि पछिल्लो भने बृद्धि हुन थालेको छ ।
लक्ष्य अनुसार कार्यक्रम विस्तारले गति लिन नसकेपनि पछिल्लो समय ग्रामिण क्षेत्रमा भने स्वास्थ्य बीमा गराउनेको संख्या बढ्न थालेको छ । स्वास्थ्य बीमा बोर्डको पछिल्लो तथ्याङ्क अनुसार देशभर स्वास्थ्य बीमा गराउनेको संख्या ६२ लाख १० हजार ५८९ पुगेको छ । बोर्डका अनुसार २०.५६ प्रतिशत नेपालीमा मात्रै स्वास्थ्य बीमा पुगेको हो । अझै ७९.४४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको दायरा बाहिर देखिएका छन् । सरकारले बीमा कार्यक्रम सुरु भएको पाँच वर्षमा सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको थियो । तर, स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको सात वर्ष लागिसकेको छ ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा बापतको २५ अर्ब १ करोड ८१ लाख रुपैयाँ बढीको दाबी भुक्तानी गरिसकेको बोर्डका सूचना अधिकारी शभ्भु प्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०७९.८० को पहिलो त्रैमासमा ३ अर्ब ९४ करोड रुपैयाँ दावी भुक्तानी गरेको बताए । गत आवसम्म भने २१ अर्ब रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

स्वास्थ्य बीमा गर्नेमा महिलाहरुको संख्या बढी छ । बोर्डको तथ्याङ्क अनुसार ३२ लख ४ हजार ३२४ महिलाले स्वास्थ्य बीमा गराएका छन् । जुन, कुल बीमितको ५१.५९४५ प्रतिशत हो । स्वास्थ्य बीमा गराउने पुरुषको संख्या भने ३० लाख ५ हजार ५०३ पुगेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा हालसम्ममा १५ अर्ब ६६ करोड ४४ लाख ११ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । कुल योगदान रकमममा सबैभन्दा बढी प्रदेश १ बाट संकलन भएको छ । बोर्डका अनुसार प्रदेश १ बाट कुल संकलन योगदान रकमको २९.५७ प्रतिशत अर्थात ४ अर्ब ६३ करोड २२ लाख ७ हजार रुपैयाँ रहेकोछ । दोस्रो स्थानमा रहेको बागमती प्रदेशबाट १८.३६ प्रतिशत लुम्बिनी प्रदेशबाट १६.१० प्रतिशत, गण्डकीको १४.२८ प्रतिशत, सुदुरपश्चिम प्रदेशको ९.४२ प्रतिशत, मधेश प्रदेशको ७.६३ प्रतिशत र कर्णाली प्रदेशको ४.६५ प्रतिशत रहेको छ ।

तथ्यांअनुसार कार्यक्रममा सहभागी भएका बीमितहरुमध्ये १५ देखि २९ वर्ष उमेर समूहका धेरै रहेका छन् । यस उमेर समूहका एक लाख ४८ हजार ८१९ अर्थात २३.८ प्रतिशत बीमित सहभागी भएका छन् । बोर्डका अनुसार ६० वर्ष भन्दा माथिका २३.२ प्रतिशत अर्थात १४ लाख ४० हजार १८५ बीमित सहभागि देखिएका छन् । सबैभन्दा कम भने ३० देखि ३९ वर्ष उमेर समूह सहभागि भएका छन् । जुन कुल बीमितको १३ प्रतिशत हुन् आउछ । यस्तै, ४० देखि ५९ वर्ष उमेर समूहका २१.९ प्रतिशत १४ वर्ष उमेर समूहका १७.२ प्रतिशत सहभागि भएका छन् ।

बोर्डको तथ्याङ्क अनुसार बढी सेवा लिने उमेर समूह भने ४० देखि ५९ वर्षसम्मको रहेको छ । बोर्डकाअनुसार ३२.६९ प्रतिशत दाबी यस उमेर समूहकाले गरेका छन् । यस्तै, ६० वर्षदेखि माथि उमेर समूहका बीमितले बढी सेवा लिएका छन् ।













