वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी, ब्याजदर प्रस्ताव गर्न आव्हान
वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी, ब्याजदर प्रस्ताव गर्न आव्हान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानीयोग्य रकम नेपाली रुपैयाँ तथा अमेरिकन डलरमा ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने रकम भने खुलाएको छैन् । कम्पनीले एक वर्ष वा सो भन्दा बढी अवधिको लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।
कम्पनीका अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी शिलबन्दी पेश गर्न सक्नेछन् । गोप्य सिलबन्दी कम्पनीले तोके बमोजिमको कोटेशन सम्बन्धी फाराम भरी सात दिनभित्र कार्यालय समयमा केन्द्रीय कार्यालय मार्फत पेश गर्नुपर्ने छ ।
प्रस्तावको मान्य अवधि एक महिनाको हुनेछ । प्रस्ताव केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालयबाट प्राप्त भएमा मान्य नहुने कम्पनीले जनाएको छ ।














