चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको खस्केको मनोबल बढ्यो, कार्यान्वयनमा भने चुनौति: परिसंघ
काठमाडौं । नेपाल उद्योग परिसंघले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल केही हदसम्म उकास्न सकरात्मक सञ्चार प्रवाह भएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले गत कात्तिक १ देखि लागू गरेको चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै संशोधन गरेको हो । चालुपुँजी कर्जा वर्तमान अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको परिसंघले जनाएको छ ।
समृद्धिका साझेदार उद्योगी व्यवसायीहरु हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ दुई वर्ष पर सार्नुपर्ने परिसंघको सुझाव आंशिक रुपमा सम्बोधन भएको विज्ञप्ति मार्फत भनिएको छ ।
परिसंंघका अनुसार संशोधित मार्गदर्शनबाट यसअघि ५० लाखसम्म चालु पुँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर १ करोडसम्म पुर्याउनु सकारात्मक छ । यसले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने परिसंघको भनाई छ ।
परिसंघले विज्ञप्ति मार्फत भनेको छ,– ‘पुराना चालुपुँजी कर्जाहरूको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको देखिएमा आगामी २०८२ असार मसान्तसम्ममा कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराइनु पनि सकारात्मक छ । तर, यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिर्वाय व्यवस्था गर्नुभन्दा अधिक समय दिइ कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउँदा उद्योगी तथा व्यवसायीहरुलाई सहज हुने हाम्रो बुझाई छ ।’
५ करोड रुपैयाँभन्दा कमको चालु पुँजी कर्जाको हकमा ग्राहक स्वयम्बाट प्रमाणित त्रैमासिक विवरण तथा ५ करोडभन्दा बढीको चालु पुँजी कर्जाको हकमा आन्तरिक लेखा परीक्षकबाट प्रमाणित अर्धवार्षिक विवरण बुझाए हुने व्यवस्थाले उद्योगी व्यवसायीहरुलाई सहजीकरण गर्ने, चालुपुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण उपलब्ध गराउनुपर्ने व्यवस्थालाई ३ वर्ष कायम गरिनु पनि सकारात्मक रहेको सीएआईले बताएको छ । तर, पनि चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयन गर्न भने चुनौतिपूर्ण हुन सक्ने परिसंघले जनाएको छ । यस मार्गदर्शनमा भएका व्यवस्थाहरुका बारेमा ग्राहक, बैंक तथा वित्तीय संस्था र केन्द्रिय बैंकबीच बुझाइमा एकरुपता हुन अत्यावश्यक रहेको बताइएको छ । यसका लागि केन्द्रिय बैंकले आवश्यकताअनुसार तालिम तथा परामर्शका साथै सहजीकरणका लागि विज्ञसँग पहुँचसहितको हेल्प डेस्क/कल सेन्टरको व्यवस्था गर्न परिसंघ आग्रह गर्दछ मार्गदर्शनमा गरिएको अनौपराचारिक प्रकृतिको कर्जा तथा पर्मानेन्ट वर्किङ क्यापिटलको उपयोगलाई सहज गर्न सकिए समग्र मार्गदर्शनको कार्यान्वयन प्रभावकारी हुने भएकाले यसलाई केन्द्रिय बैंक तथा बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकताका साथ सहजीकरण गर्नुपर्ने परिसंघको सुझाव छ ।
संशोधित चालु पुँजी कर्जामा गरिएको सकारात्मक व्यवस्थाहरुका बाबजुद यसले उद्योगी व्यवसायीहरुका समस्याहरुलाई पूर्णरुपमा सम्बोधन गर्न नसकेको उसको ठहर छ । ‘उद्योग तथा व्यवसायलाई स्थायी प्रकृतिको भन्दा अस्थायी प्रकृतिको कर्जा अधिक आवश्यक पर्ने भएकाले राष्ट्र बैंकले दिएको २५ प्रतिशत चालू पूँजी कर्जाको सीमा बढाएर ४० प्रतिशत गर्न आवश्यक छ । यस्तै ख्बचष्बलअभ को तयभिचबलअभ पनि २० प्रतिशत पर्याप्त नभएकाले बढाएर ४० प्रतिशत बनाउनुपर्ने हाम्रो सुझाव छ’ परिसंघले भनेको छ ।
कुनै ऋणीले वर्षमा एक पटकभन्दा बढी अनौपचारिक प्रकृतिको कर्जा लिनुपरे संचालक समितिबाट निर्णय गराउनुपर्ने व्यवस्थाले यस्तो प्रकृतिको चालू पुँजी कर्जालाई थप जटिल बनाएको र व्यवसायको वृद्धिलाई अवरोध गर्ने र यसलाई पुरानै व्यवस्था कायम गर्न आवश्यक रहेको परिसंघको भनाइ छ । प्रत्येक त्रैमासको अन्तिम महिनामा चालु पुँजी कर्जाको सीमा बृद्धि गर्न नपाइने तथा नयाँ चालु पुँजी कर्जा स्वीकृत नहुने व्यवस्थाले उद्योग व्यवसायको वास्तविक आवश्यकतालाई नजर अन्दाज गरेकाले यसलाई पुनर्विचार गरिनुपर्ने परिसंघको माग छ ।
आर्थिक वर्षको कुनै एक समय कम्तिमा लगातार ७ दिन कर्जा खाता शून्य बक्यौता कायम गर्नुपर्ने प्रावधान व्यहारिक नभएकाले संशोधन गरिनुपर्ने परिसंघको सुझाव छ । बैंक तथा वित्तीय संस्थाले कर्जाग्राहीको चालु सम्पत्ति तथा चालु दायित्वको अनुगमन वर्षको ४ पटक गर्नुपर्ने व्यवस्थाले नियमित उत्पादन प्रक्रियामा अवरोध हुने भएकाले यो व्यवस्था व्यवहारिक नरहेकोले यसलाई एक पटक आकस्मिक निरिक्षण तथा त्रैमासिक रुपमा स्वःघोषणा गर्ने गरी संशोधन गर्न आवश्यक रहेको परिसंघको माग छ ।
मौसममा आधारित व्यवसायिक चक्र भएका, क्यास कन्भर्जन साइकल लामो भएका, निर्माण क्षेत्र लगायतका उद्योग व्यवसायहरुको प्रकृति अनुसार चालुपुँजी कर्जाको व्यवस्था फरक गर्न जरुरी रहेको परिसंघको भनाइ छ ।
अर्थतन्त्रको समग्र मागमा नै व्यापक संकुचन आउँदा उद्योगी व्यवसायीहरुको आत्मबल निक्कै खस्किएको भन्दै परिसंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत तरलता प्रवाह बढाउने, ब्याजदर कम्तिमा २ प्रतिशत विन्दुले घटाउने तथा उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न परिसंघ आग्रह गरेको छ ।













