सिभिल बैंकमा आजदेखि दुई घण्टा पेन डाउन, सीईओ पोखरेल पनि बाहिरिने
काठमाडौं । सुरुआति सहमति तोडेर हिमालयन बैंकले सिभिलबाट आउने तल्लो तहका कर्मचारीलाई घटुवा गर्ने भनेपछि आज देशभरको शाखामा पेनडाउन हुने भएको छ । हिमालयनले सिभिल किन्ने प्रक्रीयामा यसअघि समान हैसियतमा कर्मचारी समायोजन गर्ने भनिएको थियो । उच्च व्यवस्थापनका अधिकारीहरुमात्रै घटुवा हुनसक्ने भनेकोमा अहिले आएर अधिकृतभन्दा तल्लो दर्जाका सबै कर्मचारीलाई एक तह घटुवा गर्ने भनिएको छ ।
यसरी घटुवा गर्दा करीब ६ सय कर्मचारीको करियर पछाडी धकेलिने छ । बढुवाको प्रतिक्षामा बसेका डेढ सयभन्दा धेरै कर्मचारी यो निर्णयबाट सबैभन्दा धेरै प्रभावित हुने उनीहरुले बताएका छन् । ‘अहिले बढुवाको लाइनमा बसेका मान्छेको करियरलाई त यो प्रस्तावले ६–७ वर्ष नै पछि पार्ने भयो’ बैंकका एक कर्मचारीले भने ।

कर्मचारी संयन्त्रमा सिभिल बैंक हिमालयनभन्दा पनि उम्दा हालतमा रहेको जानकार बैंकरहरु बताउँछन् । ‘लगानी पोर्टफोलियो र बजारको आकारका हिसाबले हिमालयन बलियो भए पनि संस्थागत सुशासनमा सिभिलका तल्लो तहका कर्मचारी बढी सक्षम छन्,’ बैंकका एक पूर्व सीईओले भने । तर हिमालयनले प्राप्ति प्रक्रिया टुंगिने बेलामा आफूहरुलाई ‘दोस्रो दर्जा’को रुपमा व्यवहार गरेको सिभिलका कर्मचारीको गुनासो छ ।

सकेसम्म सिभिलका कर्मचारी लिन नपरे हुन्थ्यो भन्ने हिमालयका उच्च व्यवस्थापकको मनस्थिति छ । यसका लागि सिभिलले स्वेच्छिक अवकाश योजना पनि ल्याएको छ । तीन दिनका लागि ल्याइएको उक्त अवकाश योजनामा सामेल हुने आज (बुधबार) अन्तिम दिन हो ।
सिभिलले स्वेच्छिक अवकाश लिन चाहने व्यक्तिलाई सेवा अवधिका हिसाबले उपदान दिने भनेको छ । १ वर्ष बराबर २ महिनाको तलव सुविधा उपदानमा दिने गरी अवकाश योजना ल्याइएको कर्मचारीले बताएका छन् । १२ वर्षअघि स्थापना भएको उक्त बैंकमा सुरुदेखि काम गरेका कर्मचारीले २४ महिनाको तलब पाउने छन् । तलवमान भने पछिल्लो समय खाइपाइ आएको रकम हुने छ ।
तल्लो तहका कर्मचारीले पनि सकेसम्म स्वेच्छिक अवकाश रोजुन् भन्ने हेतुले पनि अहिले घटुवाको एजेण्डा अघि सारेको हुनसक्ने कतिपय कर्मचारी बताउँछन् । आधा जति कर्मचारीले घटुवा अस्वीकार गरेर स्वेच्छिक अवकाश लिए भने बाँकी कर्मचारीका बारेमा पछि फरक निर्णय लिन सजिलो हुने रणनीतिमा हिमालयन देखिएको पनि कतिपय बताउँछन् ।

उच्च व्यवस्थापनमा पनि त्यस्तै समस्या भएको छ । ४ वर्षे कार्यकालका लागि १९ महिनाअघि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल पनि बाहिरिने भएका छन् । यसअघि उनी डेपुटी सीईओ भएर हिमालयन जाने समझदारी भएको थियो । सिभिलको प्रमुख कर्जा अधिकृत रहेका सुमन आचार्य पनि बाहिरिने भएका छन् । पद मिलानमा समस्या हुने भएपछि उनी पनि बाहिरिने भएका हुन् ।
सिभिलका डेपुटी सीईओ सचिनजंग रायमाझी भने एक तह घटेर सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा हिमालयन जाने पछिल्लो प्रस्वाव आएको छ । हिमालयनले मर्जर वा प्राप्तिमा यसरी नै अनेक लफडाबाजी गर्दै आएको छ । बैंकको नयाँ सञ्चालक समिति आएसँगै तत्कालिन नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरमा पनि अनेक लफडा निकालेको थियो । अन्ततः मर्जर तोडियो र नेपाल इन्भेष्टमेण्टले मेगा बैंकसँग मर्जर गरेर एकीकृत कारोबार सुरु गरिसक्यो ।
हिमालयनले भने एकीकृत कारोबारको म्याद पटक पटक सार्दै लगेको छ । पुस मसान्तभित्रै गर्ने भनेको एकीकृत कारोबारको अवधि लम्ब्याएर माघ १८ सम्म भनिएको थियो । त्यसपछि फेरी लम्ब्याएर माघ अन्तिम र फागुन १ बाट एकीकृत कारोबार थाल्ने कुरा भयो । अहिले फेरी फागुन १० बाटमात्रै एकीकृत कारोबार थाल्ने भनिएको छ ।
कर्मचारीहरुको नयाँ विरोधले आगामी फागुन १० मा पनि एकीकृत कारोबार सुरु हुन्छ या हुँदैन भन्ने स्पष्ट छैन । अर्कातिर मर्जर वा प्राप्तिपछि बैंकले नयाँ सफलता चुम्न कर्मचारीहरुको एकता र सहअस्तित्व सबैभन्दा बढी जिम्मेवार हुन्छ ।
कर्मचारीबीचमा विदेभ भयो र त्यसले गुटबन्दी निम्त्यायो भने राम्रो बैंक पनि सही ढंगले अघि बढ्न सक्दैन भन्ने उदाहरण वितगमा बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकको मर्जरमा देखिएको थियो । मर्जरपछि उन्नत विकास हुनुपर्नेमा त्यसको उल्टो बैंक अफ काठमाण्डू अन्ततः ग्लोबल आईएमईमा गाभिन पुगेको छ ।
हिमालयले सिभिलका कर्मचारीलाई गरेको यो विभेदपूर्ण व्यवहारले पनि एउटा इतिहास बोकेको र ठूलो बैंकको भविष्य सुखद हुनेमा शंका जन्मिन थालेको कतिपय बैंकर बताउँछन् ।













