सिभिललाई प्राप्तिपछि हिमालयन बैंकः ‘अधिकांश सूचकमा टप फाइभ, लगानीकर्तालाई उच्चतम प्रतिफल’
काठमाडौं । शुक्रबारदेखि हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकले फागुन ५ गते सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नाममा एकिकृत कारोबार गर्न स्वीकृति दिइसकेको छ । बैंकको कार्यालय हाल हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ ।
शुक्रबार एक कार्यक्रम आयोजना गरि यी दुवै बैंकले संयुक्त कारोबारको औपचारिक सुभारम्भ गरेका छन् । सोही कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले लगानीकर्तालाई उच्चतम प्रतिफलमा जोडदिने बताएका छन् ।
सिभिल बैंकलाई प्राप्तिपछि बनेको हिमालयन बैंकको एकीकृत सुभारम्भ कार्यक्रममा सीईओ राणाले यस्तो बताएका हुन् । उनले भने,–‘सिभिललाई प्राप्तिपछि बैंक अझै सबल बनेको छ, हामी लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल र ग्राहकलाई समय सापेक्ष प्रविधियुक्त सेवा प्रदानमा प्रतिवद्ध रहने छौं ।’ हिमालयन बैंक देशकै उत्कृष्ट, सवल तथा ठूलो संस्था बनेको पनि सिईओ राणाको दावी थियो । उनले बैंक निक्षेपमा सातौं नम्बर, कर्जामा छैठौं नम्बर, सम्पतिमा ७ औं नम्बर र अन्य अधिकांश सूचकहरुमा बैंक टप फाइभभित्रै आईसकेको दावी गरे ।

सोही अवसरमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले सिभिल बैंकको प्राप्तिसँगै अब हिमालयन बैंक थप बलियो बन्ने बताए । उनले भने,–‘हामी पहिले नै पनि बलियो बैंकका रुपमा थियौं, अब सिभिल थपिएको छ, यसले हामीलाई अझै शसक्त र प्रभावशाली बैंकका रुपमा स्थापित गर्नेछ।’ अध्यक्ष श्रेष्ठले देश विकासको आर्थिक अवस्था एंव प्राप्तिपछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानीयोग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर दिगोपनका लागि बाटो खुलेको बताए ।
यता, साविकको सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले कर्मचारीलाई एकता र मनोबलमा ध्यान दिनुपर्ने बताए । मर्जपछि बैंक अझै बलियो र सबल बन्ने तर दुवै बैंकका कर्मचारीहरुको मनोविज्ञानको उचित कदर हुनुपर्ने उनको भनाई थियो ।
उनले भने,–‘सिभिलको योङ एण्ड इनर्जेटिक टिम र हिमालयनको परिपक्क कर्मचारीहरुको टिमले बैंकलाई अझै सबल र शसक्त बनाउनेछ, कर्मचारीहरुको हित र व्यवस्थापन तथा समान मनोविज्ञन निर्माणका लागि बिशेष ध्यान दिनु होला ।’ मर्जर तथा प्राप्तिबाट कर्मचारीहरुको पनि हित हुनुपर्नेमा जोड दिएका थिए ।
यी दुवै बैंकबीच १ः८०.२८ स्वाप रेसियामा मर्जरमा जाने सहमति भएको हो । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८० कित्ता सेयर पाउने छन् । एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ, चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ । यस्तै शाखा सञ्जाल १८९ वटा पुग्नेछन् ।













