१९ श्रावण २०८३, मंगलबार

आर्थिक मन्दीको असर: आठ महिनामा ७ अर्ब ४१ करोडको चेक बाउन्स, ६ हजार ४२२ मुद्दा दर्ता



काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण नेपालमा चेक बाउन्स हुने क्रम ह्वात्तै बढेको छ । जसले बैंकिङ्ग कसूर अन्तर्गत उजुरी गर्नेको संख्या पनि बढाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा मात्रै ७ अर्ब ४२ करोड ७ लाख २७ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको छ । सो अवधिमा चेक बाउन्सको ६ हजार ४२२ मुद्दा दर्ता भएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको छ, जुन हालसम्मकै बढी हो । चेकबाट हुने कारोबार बढेसंगै यस्तो मुद्दा बढेको हो । चेक काटिएको बैंक खातामा रकम पर्याप्त छैन भनि चेक नछाटिदाँ यस्तो मुद्दा तिव्र रुपमा बढेको प्रहरीको भनाई छ ।

गत बर्षहरुभरीमा पनि यो भन्दा कम मात्रामा चेक बाउन्स हुने गरेको थियो । तर, यो बर्ष आठ महिनामै संख्या र रकमका आधारमा चेक बाउन्सको मुद्दा बढेको छ । ब्याजमा रकम लगाउने र घरजग्गा कारोबार र व्यवापार गर्नेहरुको चेक बाउन्स उजुरी बढी हुनेको गरेको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजीपी पोषराज पोखरेलले बताए ।

उनका अनुसार चेक बाउन्समा विदेशी नागरिक समेत पक्राउ परेका छन् । चालु आवको आठ महिनामा ४ जना विदेशी नागरिक चेक बाउन्सको मुद्दामा पक्राउ परेका हुन् । सो अवधिमा नेपाली ९१४ जना पुरुष र १५६ महिला पक्राउ गरेका छन् । आर्थिक संकटको असरले पनि चेक बाउन्स बढी रहेको प्रवक्ता पोखरेले बताए । उनले भने–‘व्यवसायिक कारोबारको क्रममा, लेनदेन व्यवहार मिलाउन तथा रकम ब्याजमा दिने वा सापटि दिएको रकमको सट्टामा चेक लिने दिने प्रचलन बढेको छ । पछिल्लो समय आर्थिक संकटले पनि चेक बाउन्स बढी रहेको पाइन्छ ।’

चेक बाउन्समा कतिपयले सजायसमेत भोगिरहेको प्रहरीको भनाई छ । भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने ‘चेक बाउन्स’ मानिन्छ । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ ।

कुन वर्ष कति चेक बाउन्स ?

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ मा चेक बाउन्स सम्वन्धी ६२१ वटा मुद्दा दर्ता भएको थियो । सो आवमा कुल १ अर्ब २१ करोड ५ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । त्यतिबेला ३६५ जना स्वदेशी तथा विदेशी नागरिक चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए । पक्राउ पर्नेमध्येमा २५५ जना पुरुष र ७२ जना स्वदेशी महिला, ३२ जना विदेशी पुरुष ६ जना महिला रहेका थिए ।

आव २०७५/७६ भने पनि चेक बाउन्सको मुद्दा झण्डै पौने पाँच गुणाले बढेको देखिएको छ । सो आवमा २ हजार ९६६ वटा चेक बाउन्स मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार आव २०७५/७६ मा १ अर्ब ४६ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । चेक बाउन्समा १ जहार १४४ जना पक्राउ परेका थिए ।

यस्तै, आव २०७६/७७ मा भने चेक बाउन्सको मुद्दा ह्वात्तै बढेको देखिएको छ । सो आवमा ३ हजार २७५ वटा चेक बाउन्सका मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरीका अनुसार सो आवमा २ अर्ब ६० करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । सो आवम १ जहार १५० जना स्वदेशी तथा विदेशी नागरिक पक्राउ परेका थिए ।

त्यसैगरि आव २०७७/७८ मा भने चेक बाउन्सको मुद्दा घटेको देखिन्छ । यद्यपि, रकमका आधारमा भने २ अर्ब १२ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो । सो आवमा कुल ९ जना स्वदेशी तथा विदेशी नागरिक चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।

गत आव २०७८/७९ मा पनि चेक बाउन्सको मुद्दा उल्लेख वृद्धि भएको थियो । सो आवमा ५ हजार ३७० वटा चेक बाउन्सको मुद्दा दर्ता भएका थिए । प्रहरीका अनुसार आव २०७८/७९ मा ६ अर्ब ७१ करोड ९२ लाख ५ हजार रुपैयाँ बढीको चेक बाउन्स भएको थियो । सो आवमा पक्राउ पर्नेको संख्या पनि धेरै नै देखिएको छ । प्रहरीका अनुसार १ हजार ४३ जना स्वदेशी तथा विदेशी नागरिक पक्राउ परेका हुन्।