७ श्रावण २०८३, बिहिबार

सम्पूर्ण आयोजनाहरुको दुई वर्ष म्याद थप्न महासंघको माग, ‘लो बिड’लाई निरुत्साहित गर्न मन्त्री गुरुङको सुझाव



काठमाडौं । सम्पूूर्ण आयोजनाहरुको म्याद थप्न नेपाल निर्माण व्यवसायी महासंघले माग गरेको छ । शहरी विकास र भौतिक पूर्वाधार मन्त्री सीता गुरुङलाई भेट्न पुगेको महासंघकाको टिमले यस्तो माग गरेको हो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपमा दुई वर्ष म्याद थप गर्न माग गरेका हुन् । आगामी २०८१ असार मसान्तसम्म पनि कार्य सम्पन्न नहुने आयोजनाहरुको ऐन अनुसार नै ठेक्का सम्झौता रद्द गर्न सकिने अध्यक्ष सिंहले प्रस्ताव गरेका थिए ।

मन्त्री गुरुङ समक्ष महासंघका अध्यक्ष सिंहले भने,– ‘सम्पूर्ण आयोजनाहरूको एकमुष्ट रुपमा २०८१ असार मसान्तसम्म म्याद थपका लागि महांघले माग गर्दछ । २०८१ असार मसान्तसम्म पनि कार्य सम्पन्न नहुने आयोजनाहरूको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन नियम बमोजिम सुविधाको आधारमा अन्त्य गर्न सकिन्छ ।’

महासंघका अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावली पटक पटक संशोधन भएता पनि निर्माण व्यवसायीहरूको समस्या समाधान हुन नसकेको बताएका थिए । मूल्य समायोजन नहुँदा व्यवसायीहरू मारमा परेको भन्दै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन समेत मन्त्री गुरुङलाई आग्रह गरे । उनले भने,– ‘कोभिड कहर, निर्वाचन, चाडपर्व, खानी तथा नदीजन्य सामग्रीको उत्खनन्मा लगाइएको रोक, भुक्तानी अभावका कारण व्यवसायीहरूले समयमै काम गर्न सकिरहेका छैन । यसमा मन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहान्छु ।’

सोही अवसरमा शहरी विकासमन्त्री गुरुङले समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरेकी छन् । उनले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । निर्माण व्यवसायीहरूको ठूलो भुक्तानी रोकिएको तर्फ सङ्केत गर्दै मन्त्री गुरुङले समस्या समाधानका लागि पहल गर्ने बताइएन् ।
उनले भनिन्,–‘निर्माण उद्योगसँग शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयले प्रत्यक्ष सरोकार राख्दछ । दुवै मन्त्रालयको सहकार्यमा निर्माण उद्योगको विकासका लागि नीतिगत निर्णय हुने गरिन्छ ।’

भेटमा महासंघका सल्लाहकार यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरे, कार्यसमिति सदस्यहरू दानबहादुर खड्का,जनकराज तिमल्सिना, विष्णुप्रसाद लामिछाने, विनोद भट्टराई, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्