१९ श्रावण २०८३, मंगलबार

नागरिक लगानी कोषले बढायो नाफा: ब्याज आम्दानी दोब्बर वृद्धि, बन्दमुखी सामूहिक कोष योजना ल्याउँदै



काठमाडौं । नागरिक लगानी कोषले १६ करोड रुपैयाँले नाफा बढाएको छ । कोषले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ९ महिनामा कोषले ७७ करोड ७९ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १६ करोड १२ लाख अर्थात १६.१४ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा ६१ करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कोषले ब्याज आम्दानी, सेवा शुल्क लगायतका आम्दानी बढाएपछि नै नाफा वृद्धिमा टेवा पुगेको हो । समिक्षा अवधिमा कोषमा ब्याज आम्दानी दोब्बर वृद्धि गरेको छ । गत आव १४ करोड ७५ लाख २५ हजार रुपैयाँ रहेको कोषको ब्याज आम्दानी यस वर्षको समिक्षा अवधिमा भने १०६.७६ प्रतिशतले बढाएको छ । योसंगै चालु आवको ९ महिनामा कोषले ३० करोड ५० लाख ३२ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै, कोषको सेवा शुल्क तथा कमिशन आम्दानी ९३ करोड ५० लाख ६७ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा ५ करोड २३ लाख रुपैयाँले बढी हो । कोषको विविध आम्दानी पनि ४ लाख ६५ हजार रुपैयाँबाट १ करोड ६७ लाख १७ हजार रुपैयाँ पुगेको छ । यस्ता आम्दानीले नै कोषको नाफामा सुधार आएको हो ।

कोषको चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ । गत आवको तुलनामा कोषमा चुक्ता पुँजी ३० प्रतिशतले वृद्धि गरेको हो । यता, जगेडा कोषमा भने १६ अर्ब ८२ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

कोषको प्रतिसेयर आम्दानीमा भने सामान्य गिरावट आएको छ । गत आवको समिक्षा अवधिमा २५ रुपैयाँ १५ पैसा रहेको कोषको इपिएस यस वर्षको सोही अवधिमा भने घटेर २४ रुपैयाँ ४० पैसा कायम भएको छ । कोषको प्रतिसेयर नेटवर्थ भने २१० रुपैयाँ ८७ पैसा रहेको छ ।

दीर्घकालिन प्रकृतिको कोष संकलन गर्ने भएकाले सहभागिहरुको मासिक संकलन रकम दैनिक भुक्तानी दिईने कार्य भएको हुँदा तरलता सहज भएको कोषले जनाएको छ । कोषको मुख्य आम्दानीको रुपमा कोष संचालन गरेका योजनाहरुबा प्राप्त सेवा शुल्क, ब्याज आम्दानी तथा नगद लाभांश रहेको छ ।

बन्दमुखी सामूहिक कोष योजना संचालन गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ । कोषको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पर्ने अवस्था नरहेको व्यवस्थापकीय विश्लेषण रहेको छ ।