नियामक नै सम्वेदनशील नुहदाँ अर्थतन्त्र चापमा, व्यापार ऋणात्मक हुनु निजी क्षेत्र संकुचितको संकेतः महासंघ
काठमाडौं । अर्थतन्त्रमा चाप परेकोतर्फ नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघले एक बर्षदेखि अन्तराष्ट्रिय बजारमा बढेको मुल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण आए पनि सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्र चापमा परेको बताएको हो ।
पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखिएको महासंघको भनाइ रहेको छ । उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुदै गएको संकेत रहेको तर्क महासंघले राखेको छ ।
यस अवस्थामा सरकार र नेपाल राष्ट्र बैंक सम्वेदनशील हुनुपर्ने आवश्यकता थप भएको र अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनु पर्नेछ भनाइ महासंघको हरेको छ । उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋणात्मक रहेको हुँदा बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौति गरि पूँजीगत खर्च बढाउन महासंघ आग्रह गरेको छ ।
“निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रिय बैंकले अवलम्बन गर्नुपर्छ । केन्द्रिय बैंकले मुख्यतया नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरि ब्याजदर घटाउन पहल गर्नुपर्छ । यसैगरि पुराना ऋणीहरुले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको खराब कर्जा समेत करिब चार प्रतिशत पुगिसकेको हुँदा कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरणको सुविधा दिइनुपर्ने हाम्रो सुुझाव छ” महासंघले जारी गरेको विज्ञप्तिमा भनेको छ ।
नौ महिना यता लगातार सात प्रतिशतभन्दा बढि मुल्यवृद्धिदर रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ । निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत संगसंगै प्रभावित भैरहेकोले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिदै जानेतर्फ ध्यानाकर्षण गराउँदै महासंघ, सरकार र केन्द्रिय बैंकको सम्वेदनशीलताका आग्रह गरेको छ ।













