मर्जपछि असार मसान्तसम्म एकीकृत कारोबार गर्ने बैंकलाई सुविधै-सुविधा, के-के पाउने भए सहुलियत ?
काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार मसान्तभित्र एक आपसमा मर्जर भएमा राष्ट्र बैंकबाट विभिन्न सुविधा तथा छुट पाउने भएका छन् ।
केन्द्रीय बैंकले वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिमा सहभागि भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गर्न नसेकालाई सुविधा तथा छुटको व्यवस्था गरेको हो ।
आगामी असार मसान्तभित्र एकीकृत कारोबार संचालन गर्ने बैंकहरुले तोकिएको क्षेत्रमा कर्जा प्रवाह एक वर्ष थप गरिने राष्ट्र बैंकले जनाएको छ । एकीकृत कारोबार संचालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ मिहनाको समय प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गर्दै यस्तो व्यवस्था गरेको हो ।
गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदर कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको सयम प्रदान गरिने भएको छ ।
यस्तै, प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने सुविधा दिएको छ । संचालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आवद्ध हुन नाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने भएको हो ।
त्यसैगरि अब एकीकृत कारोबार संचालनको क्रममा एक किलोमिटर दुरीमा संचालनमा रहेका शाखा कार्यालयहरुको मध्ये कुनै एक शाखा कायम राखी सोही दुरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृत आवश्यक नपर्ने भएको छ ।












