नेपाल बैंकर्स संघ र युएसआईडी ट्रेड एण्ड कम्पिटेटिभनेशबीच सम्झौता
काठमाडौं । नेपाल बैंकर्स संघ र युएसआईडी ट्रेड एण्ड कम्पिटेटिभनेशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र युएसआईडी ट्रेड एण्ड कम्पिटेटिभनेश एक्टिभिटीको तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरुमा संवाद संचालन गर्नुका साथै नीतिगत मुद्दाहरु र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरु संग छलफल गरी उनीहरुको क्षमता अभिबृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन् । प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास कम्पनीले लिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको बिच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ्ग कारोवार संग सम्बन्धित नीति तथा पद्घतिमा एकरुपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुको एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो ।
त्यसैगरी युएसआईडी ट्रेड एण्ड कम्पिटेटिभनेश एक्टिभिटी (USAID Trade and Competitiveness) परियोजना व्यवसायीक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरुसंगको सहकार्यमा अघि बढाइएको हो ।













