कोशि प्रदेशः जलविद्युत, जल यातायात र रोजगारी सम्भावना र चुनौति कस्ता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण २०७९/८० को तथ्याङ्क अनुसार समीक्षा अवधिसम्ममा प्रदेशमा कच्ची सडक (९९२३ कि.मि.), ग्रावेल सडक (२६७१ कि.मि.), कालोपत्रेसडक (९०४ कि.मि.) गरी कुल सडक सञ्जाल १३,४९८ कि.मि पुगेको छ ।
प्रदेशमा रहेका १५ वटा आन्तरिक विमानस्थलहरुमध्ये हाल १२ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । सोलुखुम्बु जिल्लाको स्याङबोचे विमानस्थल र काङ्गेल विमानस्थल तथा ओखलढुङ्गाको खिजी चण्डेश्वरी विमानस्थल सञ्चालनमा नरहेका प्रतिवेदनमा उल्लेख गरीएको छ ।
कोशी प्रदेशमा अवस्थित अर्थतन्त्रमा प्रभाव पार्ने ठूला आयोजनामा अरुण तेस्रो जलविद्युत आयोजना, सोलु कोरिडोर १३२ के.भी. प्रसारण लाइन, कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइन तथा सवस्टेसन निर्माण, कुशाहा-विराटनगर कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजना र पुष्पलाल मध्यपहाडी लोकमार्ग रहेका छन् ।
कोशी प्रदेशमा अवस्थित अर्थतन्त्रमा प्रभाव पार्ने ठुला आयोजना
अरुण तेस्रो जलविद्युत आयोजना
अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत अरुण तेस्रो जलविद्युत आयोजना र अरुण तेस्रो जलविद्युत आयोजना (प्रसारणलाइन निर्माण) गरी दुई वटा आयोजना रहेका छन्। दुईवटा आयोजनाको कुल अनुमानित लागत रु. १ खर्ब ४५ अर्ब रहेको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य वि.सं. २०७५ वैशाखबाट प्रारम्भ भई वि.सं.२०८१ माघसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । कुल विद्युत उत्पादन क्षमता ९०० मे.वा. रहेको यस आयोजनाको २०७९ पुस मसान्तसम्मको भौतिक र वित्तीय प्रगति क्रमशः ५९ प्रतिशत र ५५.७ प्रतिशत रहेको छ । यस आयोजनामा स्वदेशी १,६६७ र विदेशी २,२१० गरी गरी कुल ३,८८७ कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
अरुण तेस्रो जलविद्युत आयोजना ४०० के.भी. प्रसारण लाइन निर्माणकोकार्य वि.सं.२०७६ माघबाट प्रारम्भ भई वि.सं. २०८१ माघमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा, महोत्तरी जिल्ला अन्तर्गत पर्ने यस आयोजनाको वि.सं.२०७९ पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः १२.४ प्रतिशत र ४०.३ प्रतिशत रहेको छ । उक्त आयोजनाबाट स्वदेशी ८९१ र विदेशी ६६ गरी कुल ९५७ जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
सोलु कोरिडोर १३२ के.भी. प्रसारण लाइनः वि.सं.२०७३ असोज ९ गतेबाट निर्माण प्रारम्भ भएको यस आयोजनाको अनुमानित लागत २ करोड ६० लाख अमेरिकी डलर रहेको छ । यस आयोजनाको प्रसारण लाइन निर्माण कार्य वि.सं. २०७८ फागुन २ गते सम्पन्न भईसकेतापनि तारमुनीको दायाँवायाँको १८ मिटर जग्गाको मुआव्जा वितरण तथा साइट क्लियरेन्सको कार्य भईरहेकोले २०७९ पुस मसान्तसम्म यस आयोजनाको भौतिक तथा वित्तीय प्रगति क्रमशः ९९.० प्रतिशत र ९९.५ प्रतिशत रहेको छ ।
कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइन तथा सवस्टेसन निर्माण
कोशी कोरिडोर २२० के.भी. प्रसारण लाइन तथा सवस्टेसन निर्माण अन्तर्गत ईनरुवा-वसन्तपुर-बानेश्वर-तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजना, तुम्लिङटार–बानेश्वर–वसन्तपुर–इनरुवा २२० के.भी. सवस्टेसन र वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइन र सव–स्टेशन गरी तीन वटा आयोजनाहरु रहेका छन् ।
ईनरुवा-वसन्तपुर-बानेश्वर-तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजनाको निर्माण कार्य सम्पन्न भई मिति २०७९ साउन १९ बाट सञ्चालनमा आइसकेको छ । तुम्लिङटार-बानेश्वर-वसन्तपुर-इनरुवा गरी ४ वटा सव स्टेसनको निर्माण कार्य सन् २०१८ अक्टोवरबाट प्रारम्भ भएको हो । कुल अनुमानित लागत २ करोड ६१ लाख अमेरिकी डलर रहेको यस आयोजनाकोवि.सं.२०७९ पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति समान ९५.० प्रतिशत रहेको छ ।
कोशी कोरिडोर अन्तर्गत ३५ कि.मि. लम्बाइ रहेको वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी.प्रसारण लाइन र सव– स्टेसनको निर्माण कार्य सन २०१८ जुनबाट प्रारम्भ भएको हो । कुल अनुमानित लागत २ करोड १४ लाख अमेरिकी डलर रहेको यस आयोजना सन्२०२३ जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोमा वि.सं.२०७९ पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ८०.० प्रतिशत र ८५.० प्रतिशत रहेको छ ।
निर्माण सम्पन्न हुन बाँकी उल्लिखित दुई आयोजनामा स्वदेशी ६९५ र विदेशी ९० गरी कुल ७८५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
कुशाहा—विराटनगर कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजना
यस आयोजनाको निर्माण कार्य आ.व.२०७३/७४ बाट प्रारम्भ भई आ.व.२०८०/८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको अनुमानित कुल लागत रु.१ अर्ब ९२ करोड रहेको छ । आयोजनाको वि.सं.२०७९ पुस मसान्तसम्मको भौतिक प्रगति ४६.४ प्रतिशत तथा वित्तीय प्रगति २४.६ प्रतिशत रहेको छ । २३ कि.मि. लम्बाइ भएको १३२ के.भी प्रसारण लाईनको कुल ८० टावर रहेका छन्। यस आयोजनामा हाल १६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
पुष्पलाल मध्यपहाडी लोकमार्ग
कोशी प्रदेश अन्तर्गत राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको कुल लम्बाइ ५१६.३० कि.मि. रहेको छ । यो आयोजना दुई खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहेको छ ।
यस लोकमार्गको पहिलो खण्ड पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर जिल्लामा पर्दछ । वि.सं.२०६९ वैशाखबाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्वाई ३८६ किलोमिटर तथा कुल अनुमानित लागत रु.८ अर्ब ९० करोड रहेको छ । यस खण्डको वि.सं. २०७९ पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ७९.४ प्रतिशत तथा ७७.० प्रतिशत रहेको छ भनेस्वदेशी ४९० जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
त्यसैगरी, यस लोकमार्गको दोस्रो खण्ड खोटाङ, ओखलढुङ्गा र उदयपुर जिल्लामा पर्दछ । आ.व.२०७१÷७२ बाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्वाई १३०.३० किलोमिटर रहेको छ । कुल अनुमानित लागत रु.२ अर्ब १४ करोड रहेको यस खण्डको आ.व.२०८०/८१ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा वि.सं.२०७९ पुस मसान्तसम्मको सडकतर्फको भौतिक प्रगति ४८.३ प्रतिशत, पुलतर्फको भौतिक प्रगति ८५.२६ प्रतिशत र समग्र वित्तीय प्रगति ७९.२ प्रतिशत रहेको छ । यस खण्डमा स्वदेशी ८३५ जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
हुलाकी राजमार्ग
कोशी प्रदेशको झापा, मोरङ र सुनसरी तथा मधेश प्रदेशको सप्तरी जिल्ला अन्तर्गत रहेको हुलाकी राजमार्गको कुल लम्बाइ ३३५ किलोमिटर रहेको छ । साथै, यस खण्ड अन्तर्गत १८ वटा पुलहरु रहेका छन्। रु.१६ अर्ब अनुमानित लागत रहेको यस खण्डको आ.व.२०६६÷६७ बाट निर्माण कार्य प्रारम्भ भएकोमा वि.सं. २०७९ पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ६५.० प्रतिशत तथा ६४.० प्रतिशत रहेको छ । यस आयोजनामा ५०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
मदन भण्डारी राजमार्ग (भित्रि तराई लोकमार्ग)
कोशी प्रदेशमा मदन भण्डारी राजमार्गको दुई खण्डमा निर्माण कार्य भइरहेको छ । यस राजमार्गको पहिलो खण्ड सुनसरी, मोरङ, झापा र इलाम जिल्लामा पर्दछ । आ.व.२०७६/७७ बाट निर्माण कार्य प्रारम्भ भएको यस खण्डको कुल लम्वाई १३१ कि.मि. र अनुमानित लागत रु.१० अर्ब १३ करोड रहेको छ । आ.व.२०८१÷८२ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको वि.सं.२०७९ पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति
क्रमशः ५०.० प्रतिशत र ४८.१२ प्रतिशत रहेको छ । यस खण्डमा जम्मा १,७०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
त्यस्तै, लोकमार्गको दोस्रो खण्ड कोशी प्रदेशको उदयपुर र बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्दछ । कुल लम्बाइ १३४ कि.मि. रहेको लोकमार्गको यस खण्डको अनुमानित लागत रु.१३ अर्ब १२ करोड रहेको छ । आ.व.२०७३÷७४ बाट निर्माण कार्य प्रारम्भ भई २०८० जेठ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस खण्डकोवि.सं.२०७९ पुस मसान्त सम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ९७.० प्रतिशत र ९७.५ प्रतिशत रहेको छ । यस आयोजनामा १२६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
कोशी (उत्तर दक्षिण) लोकमार्ग
दक्षिणमा भारतको सीमाना जोगवनीदेखि वसन्तपुर, खाँदबारी हुँदै नेपालको उत्तरी सीमाना किमाथांका जोडने राष्ट्रिय गौरवको यस लोकमार्गको कुल लम्वाई ३९० कि.मि रहेको छ ।
यस लोकमार्ग अन्तर्गतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना निर्माण कार्यको प्रारम्भ आ.व.२०६९/७० बाट भएको हो । कुल लम्बाइ ४९ कि.मि रहने यस ६ लेन सडक आयोजनाको कुल अनुमानित लागत रु.१० अर्ब ९८ करोड रहेको छ । आ.व. २०७९/८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा यस आयोजनाको वि.सं.२०७९ पुस मसान्त सम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ८५.० प्रतिशत र ८९.५ प्रतिशत रहेको छ । यस आयोजनामा २५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
यस लोकमार्गको संखुवासभा जिल्लाको खाँदबारीदेखि उत्तरी सीमा किमाथांकासम्मको कोशी कोरिडोर सडक आयोजनाको कुल लम्बाइ १६२ कि.मि. रहेको छ । आ.व.२०६५/६६ बाट निर्माण कार्य प्रारम्भ भएको यस आयोजनाको कुल अनुमानित लागत रु. ११ अर्ब ९३ करोड रहेको छ । आ.व.२०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको वि.सं.२०७९ पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ४८.० प्रतिशत र ३७.० प्रतिशत रहेको छ । यस आयोजनामा १०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
प्रदेश गौरवको आयोजना : विराटचोक–घिनाघाट सडक आयोजना
कोशी प्रदेशको प्रदेश गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको निर्माण कार्य आ.व.२०७५/७६ बाट प्रारम्भ भएको हो । कुल लम्बाइ २२ कि.मि. रहने यस ४ लेन सडक आयोजनाको कुल अनुमानित लागत रु.२ अर्ब ५ करोड रहेको छ । आ.व.२०७९/८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको वि.सं.२०७९ पुस मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ८०.० प्रतिशत र ९१.० प्रतिशत रहेको छ । यस आयोजनामा १०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
पूर्वाधार र रोजगारी क्षेत्रका चुनौती
स्थानीय स्तरका जनजीवनका आवश्यकता, उपलब्ध स्रोतसाधन, सीप र प्रविधि आदिलाई उपयोग गरी सन्तुलित आर्थिक विकासकोमान्यता बमोजिम स्थानीय जनताले परियोजना सम्पन्न गर्ने क्रममा अपनत्वको महशुस गर्नेगरी समन्यायिककिसिमले पूर्वाधारहरुको विकास गरी एकअर्काे जिल्लाबीच अन्तर सम्बन्ध कायम गर्नु।
निर्माण कार्य सम्पन्न भए पश्चात्आयोजनाकोनिरन्तर अनुगमन, रेखदेख र ममर्त सम्भार गर्ने चुस्त दुरुस्त प्रणालीको विकास गरी आवश्यक वित्तीय स्रोत व्यवस्थापन गर्नु ।
भौगोलिक जटिलताका कारण एउटै आयोजना निर्माणमा ठुलो बजेट खर्च हुनेहुँदा पर्याप्त बजेटको पूर्व सुनिश्चितता गरी आयोजना सम्पन्न गर्नु ।
प्रसारण लाइन तथा सडक विस्तारका क्रममा अवैज्ञानिक तवरले खनिएका सडक तथा खोलिएका ट्रयाकले हुने वन विनाश, यसले सिर्जना गरेको वातारणीय जोखिम एवम् जनधनको क्षतिलाई न्यूनीकरण गर्दै दिगो विकासको लक्ष्य हाँसिल गर्नु ।
देशमा व्याप्त बेरोजगारीको समस्याका कारण वैदेशिक रोजगारीमा जानेको संख्या तीव्ररुपमा वृद्धि भइरहेको अवस्थामा देशभित्र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा उद्यमशिलता तथा रोजगारीको उचित वातावरण तयार गर्नु ।
सम्भावनाहरु
यस प्रदेशमा रहेकोदेशकै प्रसिद्व धार्मिक तथा पर्यटकीय स्थल माता पाथिभरादेवीकोमन्दिरसम्म धार्मिक पर्यटकहरुलाई सहज यात्राका लागि केवलकारको निर्माण गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने।
यस प्रदेशमा उत्पादन हुने फलफूल तथा कृषिजन्य उपजको भण्डारणको लागि निजी क्षेत्रबाट कोल्ड स्टोर निर्माण लगायत ती वस्तुलाई कच्चा पद्धार्थको रुपमा उपयोग गरी वाइन, जुस, जाम, ब्राण्डी जस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगहरुको स्थापनाका लागि भएका प्रयासहरुले गर्दा स्थानीय, प्रादेशिक र संघीय सरकारले विकासका अन्य पूर्वाधारहरुको निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउनेसंभावना रहेको ।
जलविद्युत आयोजना निर्माण गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरु आकर्षित हुँदैगएको, अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माणको क्रममा रहेको तथा थप जलविद्युत आयोजना निर्माणका लागि सम्झौता भएकाले जलविद्युतको उत्पादन तथा निर्यातबाट मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने देखिएको ।
भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक प्राविधिक जनशक्ति स्वदेशमा उत्पादन गरी विदेशी लगानीमा निर्माण गरिएका आयोजनामा समेत नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्न सकिने ।













