८ कार्तिक २०८३, आइतबार

अलिबाबाका संस्थापक ज्याक मा किन आए नेपाल ? यस्तो छ, ज्याक मा को रोचक कहानी



काठमाडौं । ‘पृथ्वीको कारखाना’ भनिने छिमेकी चीनका सबैभन्दा प्रसिद्ध व्यवसायी ज्याक मा अहिले नेपाल आइपुगेका छन् । उनी बङ्गलादेशबाट नेपाल आएको र यहाँबाट पाकिस्तान पुग्ने योजना रहेको खबरहरू सार्वजनिक भएका छन् । ज्याक मा सहित ६ पुरुष र एक महिला गरी ७ जनाको टोली मङ्गलवार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

नेपालले नयाँ बजेटमार्फत प्रविधि क्षेत्रका विदेशी कम्पनीहरूलाई आफ्नो देशभित्र कारोबार गर्न पुँजीको सीमा हटाउने प्रस्ताव गरेकै बेला उनी काठमाडौँमा देखिएका छन् । ज्याक मा चिनियाँ प्रविधि क्षेत्रको सबैभन्दा उँचो नाम हो । अलि बाबा (कारोबार सङ्ख्याको हिसाबमा संसारकै सबैभन्दा ठुलो ई–कमर्स कम्पनी)जस्ता विशाल व्यापारिक साम्राज्य खडा गरेको उनी अहिले नेपाल किन आए ? स्पष्ट छैन ।

उनी झन्डै दुई वर्षको ‘अघोषित निर्वासन’ पछि तीन महिनाअघि मात्रै आफ्नो देश चीन फर्केका थिए । यसका पछाडि एक रोचक कहानी छ । सन् २०२० को नोभेम्बरमा एन्ट ग्रुप भनिने चीनकै अर्को कम्पनीले ३७ अर्ब डलरको आइपिओ निष्कासन गरेको थियो । त्यस समयसम्म यो संसारकै सबैभन्दा ठुलो आइपिओ थियो ।

तर अन्तिम घडीमा चिनियाँ नियामकले उक्त आइपियो रद्द गरिदियो । यस घटनालाई चीनको उच्च राजनीतिक नेतृत्व (सम्भवतः राष्ट्रपति सी चिनफिङ )को ‘दबाबमा भएको’ मानिन्छ । एन्ट ग्रुप अलि बाबा समूहकै एक कम्पनी थियो । संसारकै सबैभन्दा ठुलो डिजिटल (मोबाइल) भुक्तानी माध्यम ‘अलिपे’ को संस्थापक कम्पनी हो एन्ट ग्रुप ।

उक्त कम्पनीमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा ज्याक माको मात्रै ५३.४६ प्रतिशत स्वामित्व थियो । तर आइपिओ रद्द हुनासाथ चिनियाँ केन्द्रीय बैङ्कले एन्ट ग्रुपमा कुनै एक व्यक्ति वा समूहको नियन्त्रण हुन नहुने भन्यो । त्यसपछि उनले आफ्नो सेयर बेचेर ६.२ प्रतिशत मात्रै बाँकी राखे ।

नियामक निकायहरूको यस्तो कामकारबाहीलाई लिएर उनले आलोचना गर्दै भाषण गरेका थिए । त्यसपछि उनी र उनका कम्पनीहरूमा राज्यको खोज तलासी बढ्यो । सरकारका अनेकौँ जाँचबुझबाट हैरान भएपछि २०२१ को अन्त्यतिर उनले मुख्य भूमि चीन छाडेका थिए । त्यसपछि जापान, स्पेन, अस्ट्रेलिया र थाइल्यान्डमा रहेका उनका तस्बिरहरू सार्वजनिक भएका थिए ।

चीनका नवनियुक्त प्रधानमन्त्री ली छिआङले लामो समयदेखि उनलाई देश फर्कन आग्रह गर्दै आएका थिए । तीन महिनाअघि माको स्वदेश फिर्तीले चिनियाँ निजी क्षेत्र र प्रविधि क्षेत्रमा उत्साह जागेको खबरहरू छापिएका थिए । उनी चिन फर्केको खबर आएसँगै अलि बाबाको सेयर मूल्य एकै पटक ४ प्रतिशतले बढेको थियो ।

हारेका व्यापारी

ज्याक माले एन्ट ग्रुप मात्रै होइन, संसारकै सबैभन्दा ठुलो (कारोबार सङ्ख्याका आधारमा) ई–कमर्स कम्पनी अलि बाबाको कार्यकारी अध्यक्षबाट पनि अवकाश लिएका थिए । उनले २०१९ मै अलि बाबाबाट अवकाश लिँदा ‘परोपकारमा लाग्नका लागि’ कम्पनीको सक्रिय भूमिका त्यागेको भनेका थिए ।

२०२० मा उनले अलि बाबामा रहेको आफ्नो स्वामित्व ६.२ प्रतिशतबाट घटाएर ४.८ प्रतिशतमा झारेका थिए । यद्यपि, अहिले पनि अलि बाबामा करिब २४ प्रतिशत स्वामित्व बोकेको सफ्ट बैङ्क ग्रुपपछि ज्याक मा नै सबैभन्दा ठुलो व्यक्तिगत सेयर धनी हुन् ।
सन् २०२० उनका लागि ‘अफाप सिद्ध’ भएको थियो । त्यसै साल उनले एन्ट ग्रुपबाट आफ्नो ठुलो हिस्सेदारी गुमाउनु पर्‍यो । ज्याक मा चिन फर्किए पनि चीनको निजी व्यवसायमा खासै फरक नपर्ने भनेर अन्तर्राष्ट्रिय समाचार संस्थाले रोयटर्सले तीन महिना अघि लेखेको थियो ।

‘राज्यबाट उनले पहिले नै पिटाइ खाइसकेका छन्, चीनको वित्तीय प्रणालीमाथि थुप्रै पुस्तकहरू लेखेका एसिया विश्लेषक फ्रेजर होवीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘राज्यले जित्यो, ज्याकले आफ्नो नियन्त्रण, शक्ति एवम् सम्पत्ति गुमाए, र अब यो फिर्ता आउँदैन ।’

नेपाल भ्रमण

ज्याक मा र उनको टोली तीन दिनसम्म नेपालमा रहने भनिएको छ । उनको यस भ्रमणको उद्देश्य स्पष्ट छैन । अचेल उनी के कस्ता व्यवसायमा हात हालिरहेका छन् भन्ने खबरहरू पनि त्यत्ति बाहिर आएका छैनन् । तीन महिनाअघि उनी चीन फर्केपछि पहिलो पटक उनैले स्थापना गराएको एक विद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का बारे प्रवचन दिएको खबरहरू आएका थिए ।

दुई वर्षदेखि संसारका धेरै देश घुमिरहेका उनी अहिले भ्रमणका लागि मात्रै नेपाल आए वा उनको कुनै व्यावसायिक स्वार्थ छ भन्ने स्पष्ट छैन । हालै मात्र नेपालले प्रविधि क्षेत्रका कम्पनीहरूलाई २ करोड रुपैयाँको पुँजीको सीमा नलाग्ने गरी कानुन संशोधन गर्ने प्रस्ताव बजेटमा गरेको छ ।

उक्त प्रस्तावले कानुनी ढाँचा त तय गर्दैन, तर यसमा टेकेर अलि बाबा वा अमेजनजस्ता ई–कमर्स प्लेटफर्मलाई नेपालमा कारोबार गर्ने बाटो खोल्न सक्छ । त्यसो त, अलि बाबाले नेपालमा पहिले नै सञ्चालनमा रहेको दराज डटकमको सेयर किनेर आफ्नो उपस्थिति पहिले नै स्थापित गरिसकेको छ ।

करिब १३ वर्षअघि जर्मनीको भेञ्चर क्यापिटल रकेट इन्टरनेटले लगानी गरिदिएपछि मुनिव मायर र फारीस शाहले पाकिस्तानमा स्थापना गरेको दराजले बङ्गलादेश र म्यानमारमा पनि व्यापार थालेको थियो । दराजले सन् २०१६ को जुलाईमा क्यामु भन्ने अर्को इकमर्स सेवा प्रदायक खरिद गरेसँगै दराजको उपस्थिति नेपाल र श्रीलङ्कामा पनि पुगेको थियो ।

सन् २०१८ मा दराजको सबैभन्दा ठुलो सेयर मलेसियाको कम्पनी एसियन इन्टरनेट होर्डिङसँग थियो । जे २०१८ मा अलि बाबाले पुरै सेयर किनेपछि दराजको पूर्ण स्वामित्व चिनियाँ जायन्ट कम्पनीसँग पुग्यो । त्यसताका अलिबाको कार्यकारी अध्यक्ष ज्याक मा नै थिए ।

यसले अहिले पनि बङ्गलादेश, नेपाल र पाकिस्तानको भ्रमण सिलसिलाले दराजका व्यावसायिक साझेदारीलाई हेर्ने कोसिस हुनसक्ने पनि देखिन्छ । यसको अर्को पाटो चाहिँ डिजिटल भुक्तानीसँग जोडिएको छ ।

गत जेठ १८ मा नेपाल र भारतबिच अन्तर्देशीय विद्युतीय भुक्तानीसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस प्रकारको अन्तर्देशीय भुक्तानीको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी भइरहेका खबरहरू पनि आएका छन् ।

यस्तो बेला संसारकै ठुलो विद्युतीय भुक्तानी प्रणालीको स्थापनामा सफलता हासिल गरेका ज्याक माको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्न पनि सकिन्छ । किन की, ज्याक मा स्वाभाविक रूपमा नेपाल घुम्न मात्रै आउने व्यापारी होइनन् ।