२३ मेगावाटको ‘मेवा खोला जलविद्युत’का लागि जुट्यो लगानी, लक्ष्मी, नबिल र हिमालयन बैंकले साढे तीन अर्ब ऋण दिने
काठमाडौं । २३ मेगावाटको मेवा खोला जलविद्युत आयोजनाका निर्माणका लागि वित्तीय लगानी जुटेको छ । कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउपालिका वडा नं ५ मा अवस्थित सो आयोजनाका लागि ऋण लगानी जुटेको हो ।
सो आयोजनामा लक्ष्मीको अगुवाईमा नबिल बैंक र हिमालय बैंकले ऋण लगानी गर्ने भएका हुन् । मेवा खोला आयोजनाको वित्तीय व्यवस्थापनका लागि प्रवद्र्धक युनियन मेवा हाइड्रोपावर कम्पनी र तीन बैंकबीच सम्झौता भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनी अध्यक्ष किरण मल्ल र लक्ष्मी बैंकका डेपुटी कार्यकारी अधिकृत सुमित भट्टराईले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
मेवा खोला आयोजनका लागि कुल लागत ४ खर्ब ७० करोड रहेको छ । जसमध्ये ७६ प्रतिशतले हुन आउने ३ अर्ब ५२ करोड बैंकहरुको लगानी हुने भएको हो । २५ प्रतिशतले हुन आउने करिव १ अर्ब १८ करोड रुपैयाँले सेयरधनीको तर्फबाट लगानी हुने युनियन मेवा हाइड्रोपावरका अध्यक्ष इन्जिनियर किरण मल्लले बताए । उनका अनुसार लक्ष्मी बैंकको १ अर्ब ५२ करोड, नबिलको १ अर्ब र हिमालयन बैंकको १ अर्ब ऋण लगानी हुने छ ।
आयोजनाको निर्माण कार्य अन्तर्गत पहुँच मार्गको काम जम्म १३ किलोमिटर रहेको छ । जसमध्ये ११.५ किलोमिटर सम्पन्न भई अन्तिम चरणमा रहेको अध्यक्ष मल्लले जानकारी दिए । आयोजनाले हेड वक्स र विद्युत गृहमा आवस भवनको निर्माण पनि गरिसकेको छ । आयोजनाको आरसीओडी आगामी २०८२ पुस १४ गते रहेको छ । सोही मितिसम्म आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष मल्लले बताए ।
यस आयोजना मिक्वाखोला गाउँपालिकाको मेवा खोलामा खेस्तेम्वे भन्ने स्थानमा बाँध बाँधी करिव ३ हजार ६ सय मिटर टनेल हुँदै १५३६ मिटर पेनस्टक पाइप मार्फत सोही गाउँपालिकाको छेरेक्मामा अवस्थित सतही विद्युत गहृमा दुई वटा पेल्टन मार्फत विद्युत उत्पादन गरिनेछ । सोही मेवा खोलामा टेलरेस मार्फत पानी छाडिने प्रवद्र्धक कम्पनीले जनाएको छ ।
आयोजनाको वार्षिक विद्युत इनर्जी पिपिए अनुसार १३.७९ गिगावाट आवर रहेको छ । आयोजनाबाट उत्पादित बिजुली विद्युत गहृदेखि करिव ५ किलोमिटर १३२ केभी सिंगल सर्किट ट्रान्समिसन लाइन मार्फत राष्ट्रिय प्रसारण ग्रीड कम्पनीद्वारा निर्माणाधीन १३२/२२० केभी मेवा सवस्टेशनमा जोडिने छ ।













