९ श्रावण २०८३, शनिबार

एनआईसी एशिया बैंकद्वारा पाँच जना ग्राहकहरूलाई दुर्घटना बीमा वापत ५० लाख रकम भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका पाँच ग्राहकहरुको परिरवारलाई बीमादाबी ५० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले ल्याएको आकर्षक फाइदा सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहक महानुभावहरुका परिवारलाई प्रतिव्यक्ति १० लाख पैयाँको दरले कुल ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो। बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

दुर्घटना बीमा वापतको बीमा लाभ प्राप्त गर्नेे ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देही स्थित ड्राइभर टोल शाखामा खाता भएका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता भएका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता भएका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता भएका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी रहेको कम्पनीले जानकारी दिएको छ ।

निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन् । बैंकको बीमा सहितको निक्षेप योजनाहरू अन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकहरूलाई ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण गरी सकेको विज्ञप्तिमा जानकारी दिएको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनालाई ३ करोड रुपैयाँ, दुर्घटना बीमा वापत १७ जनालाई १ करोड ७० लाख रुपैयाँ र मेडिकल बीमा वापत ३ हजार ७१ जनालाई ४ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्