नयाँ नयाँ बीमालेख जारी गरि स्वस्थ प्रतिस्पर्धा गर्न कम्पनीहरुलाई पौडेलको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले नयाँ नयाँ बीमालेख ल्याउनपर्ने बताए ।
शुक्रबार प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभाम्भ कार्यक्रममा निर्देशक पोडेलले यस्तो बताएका हुन् । उनले बीमा बजारलाई स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढाउन कम्पनीहरुले नयाँ नयाँ बीमालेख ल्याउनुपर्नेमा पौडेलले जोड दिए ।
‘आज प्रभु लाइफ र महालक्ष्मी लाइफ मिलेर एक भएको छ । लगभग पुँजी पनि पुगेको छ । नपुगेको पुँजीलाई राइट सेयर मार्फत पुर्याउन प्राधिकरण बाटो दिएको छ’–पौडेलले भने ‘मर्जपछि नयाँ नयाँ बीमालेख ल्याउनुहोस्, बीमाको पहुँच विस्तारमा योगदान दिनुपर्छ ।’
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार थालनी गरेको हो । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं, कमलादीमा छ ।
प्रभु र महालक्ष्मी एक आपसमा गाभिनका लागि गत वर्ष २०७९ को असार ३० गते प्रारम्भिक सहमति भएको थियो । यी दुवै कम्पनीबीच मर्जरमा जान गत जेठ ३ गते अन्तिम सहमति भएको थियो । मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १९ करोड बढी हुनेछ ।













