लक्ष्मी सनराइजको मर्जरः आकर्षक भीआरएसले उच्चपदस्थ कर्मचारीमा जागिर छोड्ने दबाब
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिएर एकीकृत कारोबार थालेका छन् । उनीहरुले विहीबार र शुक्रबार कारोबार बन्द रहने भन्दै शनिबार दिनभर कार्यालय खोलेर बैंकिङ सेवा दिने सूचना प्रकाशित गरेका छन् । लामो समयदेखि सञ्चालक समितिको विबादले गाँजिएको सनराइज बैंकलाई लक्ष्मीमा गाभ्न राष्ट्र बैंकले दबाब दिँदै आएको थियो ।
केन्द्रिय बैंकको दबाबमा परेर भएको यो मर्जरपछि सबैभन्दा पहिले उच्च ओहोदाका कर्मचारीहरुलाई जागिर छोड्नुपर्ने बाध्यता निम्तिएको छ । यसका लागि ‘लक्ष्मी सनराइज बैंक’ले २४ महिना अर्थात् खाइपाई आएको दुई वर्षको तलव सुविधा दिने गरी आकर्षक स्वेच्छिक अवकाश योजना (भीआरएस) अघि सार्ने भएको छ ।
बैंक स्रोतका अनुसार साउन पहिलो सातासम्म कर्मचारीहरुले यस्तो अवकाश योजनामा भाग लिन सक्ने छन् । २ वर्षसम्म बेरोजगार रहँदा पनि जीवन धान्न सक्ने यस्तो मौका कर्मचारीका लागि अत्यन्त दुर्लभ अवसर हो । तर उच्च तहमा पुगिसकेका कर्मचारीहरुलाई यो नयाँ चुनौति पनि हुनसक्छ ।
उनीहरु पुनः अर्को बैंकमा तल्लो तहमा जागिर खान जान उचित सम्झिँदैनन् । पहिले निर्वाह गरेको भूमिका र त्योभन्दा पनि उच्च पदमा पुग्ने अभिलाषा धेरैले राखेको हुन्छ । तर यसरी बैंकहरु गाभिने र प्राप्तिमा सहभागि हुने क्रम बढ्दै जाँदा उच्चपदस्थ बैंकरका लागि बजार साँघुरिएको छ । फलस्वरुप उनीहरु भएको जागिर छाडेर हिँड्न तयार भइहाल्दैनन् ।
त्यसो त, मर्जरका कारण थप एक जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेरोजगार भइसकेका छन् । सनराइज बैंकका सीईओ सुमन शर्मा बाहिरिइ सकेका छन् । लक्ष्मी बैंकका अजय विक्रम शाह नै मर्जरपछि पनि सीईओ कायम रहने भएपछि शर्मा बाहिरिनुको विकल्प रहेन ।
मर्जरपछि पनि बैंकको सञ्चालक समिति अध्यक्ष र सीईओ लक्ष्मीकै रहने सहमति बनेपछि शर्मा बाहिरिएका हुन् । उनलाई आकर्षक स्वेच्छिक अवकाश योजनामार्फत् विदा गर्ने तयारी भएको छ । फेरि पनि बैंकको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नै कायम रहने छन् । यसअघि लक्ष्मी बैंकको अध्यक्ष रहेका उनी नागरिक लगानी कोषका कार्यकारी निर्देशक हुन् ।
नयाँ स्वेच्छिक अवकाश योजनाले कसकसलाई बेरोजगार बनाउँछ भनेर हेर्न बाँकी छ । तर उच्चपदस्थ कर्मचारीहरु भने सबैभन्दा पहिले तारोमा पर्ने छन् । अध्यक्ष र सीईओ लक्ष्मीबाटै आएका कारण लक्ष्मीका अधिकतर उच्चपदस्थहरु पनि जागिरमा कायम रहने संभावना बढेको बैंकसम्बद्ध स्रोतले जानकारी दिएको छ ।
‘सकेसम्म सनराइजबाट आउने कर्मचारीलाई घटाउने रणनीति देखिन्छ’ बैंकका एक कर्मचारीले अर्थपथसँग भने । सनराइजमा सीईओ शर्माबाहेक अरु तीन जना नायब प्रमुख कार्यकारीको पदमा कार्यरत छन् । आरती राज्यलक्ष्मी राणा र अपछकुमार यादव डेपुटी सीईओ छन् भने रोविन नेपाल नायब महाप्रबन्धक छन् । यसबाहेक हरिप्रसाद आचार्य र ईश्वरकुमार पाठक सहायक महाप्रबन्धक पदमा कार्यरत छन् ।
लक्ष्मी बैंकले अहिले सुमेद भट्टराईलाई मात्रै डेपुटी सीईओ राखेको छ । सनराइजलाई गाभ्दा बढीमा अर्को एक जनामात्रै डेपुटी सीईओ थप्ने रणनीतिमा बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी रहेका छन् । यसो हुँदा सनराइजबाट जाने तीनमध्ये २ जना नायब कार्यकारी ओहोदाका कर्मचारीले जागिरबाट हात धुनुपर्ने अवस्था आउने छ । विभागीय प्रमुखहरु र अन्य बरिष्ठतम पदमा पनि समायोजन गर्न उस्तै कठीन पर्ने छ ।
माथिल्लो ओहोदाका कर्मचारीको व्यवस्थापनमा मात्रै होइन, यी दुई बैंकको मर्जरले दुई ठूला कर्पोरेट परिवारको स्वार्थको टकरावलाई साम्य पार्न पनि कठीन नै पर्ने देखिन्छ । राष्ट्र बैंकको जोडबलका कारण सनराइजलाई जसरी पनि मिसाउन लक्ष्मी बैंक दबाबमा आएको थियो । यसले हालसम्म राम्रै तवरमा सञ्चालिन यस बैंकको गुणस्तर भविष्यमा जोखिममा पर्ने आशंका पनि धेरैले गरेका छन् ।
यी हुन् बैंकका मालिक
मर्जरमा समान स्वाप रेसियोमा जाने भएकाले यसले स्वामित्वमा तत्काल कुनै हेफेर नहुने देखिएको छ । दुबै बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा आफ्ना ठूला सेयरधनिको सूचि सार्वजनिक गरेका छन् । यस आधारमा लक्ष्मी सनराइज बैंकका मालिकहरुको सूची सहजै हेर्न सकिन्छ । सामान्यतया सनराज्यमा दुगड परिवार र लक्ष्मीमा खेतान परिवारको अधिक स्वामित्व रहेको छ ।
सनराइजमा धेरैजसो सेयर दुगड समूहकै छ । मोतिलाल दुगड, मालचन्द दुगड, विवेक दुगड, सुरेन्द्रा दुगड लगायत ०.५ प्रतिशतभन्दा बढी स्वामित्व भएका ३२ जना (प्राकृतिक व्यक्ति र कम्पनीसहित) मध्ये १० जना दुगड परिवारकै छन् । त्यसपछि कैलाशचन्द्र गोयल, श्रवणकुरमा गोयलहरुको स्वामित्व छ । बच्छराज तातेडसहित तातेड परिवारको पनि ठूलै स्वामित्व छ ।
शारडा परिवारका पनि पवनकुमार, राधेश्याम, शिवरतनजस्ता सबैजनाको लगानी यस बैंकमा छ । खेतान र बेगानीहरुको पनि लगानी त छ, तर अधिकतर स्वामित्व दुगड, गोयल, तातेड र शारडा परिवारकै देखिन्छ ।
लक्ष्मी बैंकमा यसअघि खेतान समूहको सबैभन्दा ठूलो स्वामित्व थियो । लक्ष्मी कर्प नेपाल नामक खेतान समूहकै कम्पनीसँग बैंकको १४.६ प्रतिशत स्वामित्व रहेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा उल्लेख छ । स्नेहा खेतानको नाममा अर्को ११.३ प्रतिशत, सारिका खेतानको नाममा ७.८२ प्रतिशत र राजेन्द्रकुमार खेतानको नाममा ४.३८ प्रतिशत स्वामित्व छ । यसरी खेतान परिवारका सदस्य र कम्पनीको अधिनमा कम्पनीको झण्डै ४० प्रतिशत स्वामित्व रहेको थियो ।
त्यसपछि नागरिक लगानी कोषसँग ८.६८ प्रतिशत स्वामित्व थियो । रतनलाल संघई, गोपिकृष्ण सिकरिया, अञ्जली सरावगी, दिपककुमार मल्होत्रा, सुनिलकुमार बन्साललगायतको स्वामित्व लक्ष्मी बैंकमा थियो । हिमालयन एक्जिम प्रालि, एमटीसी इन्भेष्टमेण्ट, राष्ट्रिय बीमा संस्थान र प्राइम होल्डिङको पनि यस कम्पनीमा उल्लेख्य लगानी छ ।













