इप्पानसँग माधव नेपालले भने–’विद्युत ऐन छिटो जारी गर्न सहयोग गर्छौ’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विद्युत ऐन छिटो जारी गर्न सहयोग गर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै पूर्वप्रधानमन्त्री नेपालले इप्पानले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।
इप्पान अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युतको इतिहासमा ३० वर्षमा ३० हजार मेगावाट बराबरका आयोजनाको विकासमा निजी क्षेत्र सहभागी भएपनि पछिल्लो समय वन, बीमा, भन्सार, स्थानीय सरकार लगायतका निकायबाट जलविद्युत विकासमा बाधा पुर्याउने कार्यहरु भइरहेकोले यसमा सहजिकरण गरिदिन अध्यक्ष नेपालसँग आग्रह गरे ।
जलविद्युत विकासको यात्राले १ सय १२ वर्षको अवधी पार गर्दा सरकारले १ हजार १०० मेगावाट हाराहारी मात्र विद्युत उत्पादन गर्दा २०५० पछि मात्र ऊर्जा विकासमा आएको निजी क्षेत्रले १६३ आयोजनाबाट करीब २ हजार १०० मेगावाट विद्युत उत्पादन गरिरहेको कार्कीले बताए ।
सरकारी क्षेत्रबाट अहिले ६ सय १० मे.वा. क्षमताका ७ वटा आयोजनाहरु निर्माणधिन छन् भने निजी क्षेत्रबाट ३ हजार १०० मे.वा.क्षमताका १ सय २९ आयोजनाहरु निर्माणाधिन रहेको पनि उनले जानकारी गराए ।
२ हजार १६७ मे.वा. क्षमताका ९५ वटा आयोजना पिपिए गरेर निर्माणको चरणमा रहेपनि करीब १२ हजार मे.वा. क्षमताका २५० आयोजनाहरुले विद्युत् जडान सम्झौता सम्पन्न गरेर पिपिएको पर्खाइमा रहेको पनि अध्यक्ष कार्कीले बताए ।













