निफ्राको अधिकांश सूचकहरु सकरात्मक सुधार, नाफा ४२.७१ प्रतिशतले बढ्दा वितरणयोग्य नाफा कति ?
काठमाडौं । कनेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार बैंकको अधिकांश सूचकहरुमा सुधार देखिएको छ । गत आवको चौथो त्रैमाससम्म आईपुग्दा बैंकले १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ खुदनाफा कमाएको छ । जुन अघिल्लो आवको समिक्षा अवधिको तुलनामा ४२.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब २ करोड २५ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशतले बढेर २ अर्ब ७२ करोड ५३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी वृद्धि भएसंगै नाफा बढ्न टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको संचालन नाफा पनि ४२.६८ प्रतिशतले बढेर २ अर्ब ८ करोड ८२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य नाफा १ अर्ब ५ करोड ४९ लाख ७८ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको समिक्षा अवधिको तुलनामा ३१.०३ प्रतिशतले बढी हो ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । बैंकको जगेडा तथा कोषको आकार पनि ३१.७२ प्रतिशतले वृद्धि भई २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८९ करोड १६ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी भने २० अर्ब १४ करोड ४० लाख रुपैयाँ नाघेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा पुगेको छ । जुन अघिल्लो आवको तुलनामा भने २ रुपैयाँ ५३ पैसाले बढेको हो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा छ ।













