२६ भदौ २०८३, शुक्रबार

सेवा तथा जानकारीको लागि नेपाल टेलिकमद्वारा मधेश प्रदेशमा अन्तरक्रिया



काठमाडौं । नेपाल टेलिकमले मधेश प्रदेशको जनकपुरधाम र सिमरामा आफ्नो सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरुसँग विभिन्न विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गरिन । यसका लागि आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्नका लागि निर्देशन समेत दिएकी थिइन् । सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने बताईन् ।

सोही अवसरमा मधेश प्रदेशका पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पु¥याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रुपमा सेवा उपलब्ध गराउनु पर्ने बताईन ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्वपूर्ण सुझाव प्राप्त गरेको जानकारी गराएका थिए ।

यता, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताए । उनले मधेश प्रदेशका राजमार्ग लगायतका स्थानमा टावर लगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरुको भूमिका हुनेमा जोड दिए ।

त्यसैगरि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत संभार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्ने बताएका थिए । उनले यसका लागि आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जानकारी गराए ।

मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थान (ओएलटी)बाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए । मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउनका लागि आवश्यक सहकार्य गर्न आग्रह गरे ।

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवा र आगामी योजनाका वारेमा जानकारी दिए । आगामी दिनमा ग्राहकको सबै गुनासो प्रदेश स्तरमै समाधान गर्ने लक्ष्यका साथ कार्य भइरहेको भन्दै आगामी दिनमा ग्राहक सेवा केन्द्रलाई चुस्त दुरुस्त बनाई अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले आम उपभोक्ताले प्रयोग गर्ने दूरसञ्चार सेवा गुणस्तरीय बनाउनु कम्पनीको दायित्व भएको र यसका लागि प्राधिकरणले नियामकको रुपमा सधै सहयोग गर्ने बताए ।

सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुको वारेमा उप–प्रबन्धक नवल चौधरी र ब.ई. बन्टी श्रेष्ठ, कम्पनीका सेवाहरु विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाको वारेमा उप–प्रबन्धक समिर बहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था वारेमा उप–प्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गरेका थिए ।

अन्तरक्रियाको अवसरमा जनप्रतिनिधिहरुले नेपाल टेलिकमको सेवा वारेमा आफ्नो धारणा व्यक्त गर्नुका साथै यसलाई प्रभावकारी बनाउने वारेमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।