१८ श्रावण २०८३, सोमबार

सिटिजन बैंकको अधिकांश सूचकहरु दोहोरो अंकले बढ्यो: नाफा, वितरणयोग्य नाफा र इपिएस कति ?



काठमाडौं । सिटिजन बैंकले सवा दुई अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकको अधिकांश मुख्य सूचकहरु दोहोरो अंकले वृद्धि भएको छ ।

गत आवमा बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा दोहोरो अंकले अर्थात अघिल्लो आवको तुलनामा १०.४१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ बढी खुद नाफा कमाएको थियो ।

बैंकको खुद आम्दानी वृद्धि भएसंगै नाफा बढेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले वृद्धि भई ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको कुल संचालन आम्दानी ६ अर्ब ९३ करोड ९८ लाख र संचाल नाफा ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको संचालन आम्दानी र संचालन नाफा क्रमश: १०.७९ प्रतिशत र १३.४२ प्रतिशतले वृद्धि भएको छ ।बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ७ अर्ब ११ करोड २० लाख रुपैयाँ राखेको छ । बैंकले जगेडा कोषको आकार १४.५६ प्रतिशतले बढाएको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप पनि १०.५० प्रतिशतले वृद्धि भई १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्जा लगानी भने ६.९० प्रतिशतले बढेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ३.१९ प्रतिशत छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १५ रुपैयाँ ५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ पनि १५० रुपैयाँ ८ पैसा पुगेको छ ।

व्यवसाय विविधिकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको मुख्य उद्देश्य रहेको छ । यसका साथै स्थानीय तहका दुर्गम क्षेत्रमा खोलिएका शाखाका साथ साथै शाखा रहित बैंकिङ्ग र माइक्रोफाइनान्स इकाईका माध्यमबाट ग्रामिण क्षेत्रमा बैंकिङ्ग पहुँच वृद्धि, ग्राहकमुखी नयाँ सेवा तथा सुविधामा आवश्यकता अनुसार वृद्धि गर्दै लैजाने बैंकको योजना रहेको छ ।

त्यसैगरी डिजीटल बैंकिङलाई प्रोत्साहित गर्दै व्यापार विस्तार गर्ने र ग्राहक सेवा सुविधा अझ चुस्त दुरुस्त र स्तरीय बनाउँदै लगिने योजना रहेको बैंकले जनाएको छ ।