२५ श्रावण २०८३, सोमबार

एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, अब आवाजबाटै क्युआर भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ ।

यस बैंकको क्यरआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नुहुनेछ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरूका साथ लाखौं ग्राहक महानुभावहरूमाझ आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको हो ।

बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको छ । क्युआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरू तथा लाखौं ग्राहकहरूबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।