सेयर कर्जा वृद्धिमा राष्ट्र बैंक केन्द्रित: सेयर धितो राखेर सस्तो ब्याजमा ऋण लिन लगानीर्ताले रोज्न सक्नेछन् यी बैंकहरु
काठमाडौं । सेयर धितो राखेर सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैंकले ऋण दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले न्युनतम ११.२७ प्रतिशत ब्याजमा सेयर कर्जा उपलब्ध गराउने भएको हो ।
ऋण लिन चाहनेहरुले आधार दर (बेस रेट) हेरेर कर्जाका लागि बैंक छनोट गर्छन् । कुन बैंकले सस्तो ब्याजमा ऋण दिन सक्छ भन्ने अनुमान यसैका आधारमा लगाउन सकिन्छ । बैंकहरुले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैंकहरुको बेस रेट बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन भने बेस रेट घटेका खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ ।
आधार दर र प्रिमियम दर कम भएको बैंकको कर्जाको ब्याज पनि सस्तो पर्ने गर्दछ । बेस रेटकै आधार सेयर कर्जा लिँदा राष्ट्रिय वाणिज्य बैंकबाट सस्तो ब्याज पर्ने देखिएको हो । बैंकको बेस रेट एकल अंक अर्थात ८.०२ प्रतिशत रहेण्को छ । यसमा ३.२५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म कर्जाको आकार हेरेर प्रिमियम जोडिने बैंकले जनाएको छ ।
नबिल बैंकले पनि सेयर कर्जा प्रवाह गर्दा आधार दरमा ३ प्रतिशतदेखि ५ प्रतिशत प्रिमियम जोड्ने भएको छ । बैंकको हालको बेस रेट ९.५२ प्रतिशत रहेको छ ।
सेयर कर्जाका लागि नेपाल बैंकले पनि सस्तो ब्याजमा उपलब्ध गराउने देखिएको छ । हाल बैंकको आधार दर ९.५५ प्रतिशत छ । यसका आधारमा बैंकले न्युनतम १२.५ प्रतिशतसम्म सेयर कर्जा दिन सक्नेछन् । आधार दरमा बैंकले २.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
यस्तै, आधार दर र प्रिमियम दरको आधारमा कृषि विकास बैंकबाट सेयर कर्जा लिँदा पनि ब्याज कम लाग्ने देखिएको छ । बैंकको आधार दर १०.१४ प्रतिशत रहेको छ । बैंकले सेयर कर्जा प्रवाह गर्दा प्रिमियमा २.५० प्रतिशत मात्रै जोडिने बताएको छ । यसका आधारमा बैंकले न्युनतम १२.६४ प्रतिशतमा सेयर कर्जा दिनेछ।
यता, कुमारी बैंकबाट सेयर कर्जा लिँदा पनि सस्तो ब्याज लाग्ने देखिएको छ। बैंकले आधार दरमा थप न्युनतम २ प्रतिशतदेखि ४.५० प्रतिशत ब्याज लिने भएको हो । यसका आधारमा बैंकबाट न्युनतम १२.८७ प्रतिशतमै सेयर धितो राखेर कर्जा लिन सकिनेछ ।
बैंकहरुले कर्जा बढाउन थालेका छन् । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्दै गएको छ भने कर्जाको ब्याजदर पनि घट्दै गएको छ । यति बेला बैंकहरु ऋण लगानी वृद्धिमा जोड दिईरहेका छन् । विशेषगरि बैंकिङ्ग प्रणालीमा लगानीयोग्य पुँजी थुप्रिएपछि बैंकहरु सेयर कर्जा प्रवाहमा फोकस देखिएका हुन् ।
राष्ट्र बैंकले यसअघि कडाई गरेको सेयर कर्जा अब भने सहज हुने देखिएको छ । केन्द्रीय बैंक नै सेयर धितो राखेर दिने कर्जा वृद्धि गर्न खोजिरहेको पाइएको छ । यता, सेयर बजारमा पनि गिरावट आएको छ । बजार घटेपछि लगानीकर्ताहरु बैंकबाट ऋण लिएर सेयर खरिद गर्न तम्सिएको देखिन्छ ।
यस्तै, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पनि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशत कायम गरेको छ । यस्तो नीतिले पनि सेयर धितो राखेर ऋण लिन लगानीकर्ता उत्साहित भएको बताइन्छ । यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा मात्रै शतप्रतिशत जोखिम भार कायम थियो । तर, ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने १५० प्रतिशतको जोखिम भार सम्वन्धी व्यवस्था यथावत राखिएको छ ।
बेस रेट र प्रियिम दरका आधारमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास, नबिल र कुमारी बैंकबाट सस्तो ब्याजमा सेयर कर्जा लिन सकिने देखिएको हो ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, एनआईसी एशिया, ग्लोबल आइएमई, सानिमा एनएमबि, प्राइम, नेपाल एसबिआई, हिमालयन र लक्ष्मी सनराइजले भने सेयर कर्जामा ५/५ प्रतिशत प्रिमियम थपिने जनाएका छन् । हाल यी बैंकहरुको आधार दर क्रमश: ९.५७ प्रतिशत, १०.०६ प्रतिशत, १०.१८ प्रतिशत, १०.३५ प्रतिशत, १०.३६, १०.३७, १०.६९, १०.९२ र १०.९६ प्रतिशत रहेको छ ।
त्यसैगरि एभरेष्ट बैंकको आधार दर ९.९२ प्रतिशत, सिद्धार्थको १०.०३ प्रतिशत रहेको छ । यी दुई बैंकले सेयर कर्जा दिँदा साढे चार प्रतिशत प्रिमियम जोडिने जनाएका छन् । यता, सिटिजन र माछापुच्छ्रे बैंकले भने सेयर धितो कर्जामा ४ प्रतिशत प्रिमियम लगाउने भएका छन् । हाल यी दुई बैंकको आधार दर क्रमश: १०.७२ प्रतिशत र १०.७४ प्रतिशत रहेको छ ।













