ऋणीलाई ब्याजको भारी बोकाएका बैंकहरु अहिले अप्ठेरोमा, बैंकको सेयर किन्नुभन्दा निक्षेप राख्दा बढी फाइदा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ऋणीलाई ब्याजको भारी बोकाएका बैंकहरु अहिले अप्ठेरोमा, बैंकको सेयर किन्नुभन्दा निक्षेप राख्दा बढी फाइदा



काठमाडौं । वाणिज्य बैंकहरु गत साल असाध्यै राम्रो मार्जिनमा कारोबार गरेका थिए । वर्ष भरी नै सिडी रेसियो उच्चतम सीमामा थियो । धेरै पटक त्यस्तो सीमा तोडिएको थियो । यसको अर्थ, बैंकहरुले सम्भव हुनेसम्म सबै स्रोतको लगानी गरेका थिए ।

अघिल्ला केही वर्षको तुलनामा ब्याजदर अन्तर पनि आकर्षक थियो । ७–८ प्रतिशतसम्म प्रिमियम जोडेर बैंकहरुले ऋणीको ‘ढाड सेकेका’ थिए । ब्याजदर त्यसै गरी बढाइएको थियो । अझ मर्जरमा जाने संस्थाहरूले १ प्रतिशत अतिरिक्त स्प्रेडको सुविधा पाउने भएपछि गत साल बैंकहरुको केन्द्रिकरणमा पनि ठुलै योगदान पुगेको थियो ।

ठुला बैंकहरुबीच बढेको मर्जरले एकै वर्षमा ६ वटा वाणिज्य बैंकको अस्तित्व नामेट भयो । एनसीसी, मेगा, सनराइज, सिभिल, सेञ्चुरी र बैंक अफ काठमान्डुको अस्तित्व नै सकियो । कुनै बेला ३२ वटा पुगेको वाणिज्य बैंकहरुको सङ्ख्या अहिले २० मा झरिसकेको छ । यसले कयौँ प्रमुख कार्यकारी अधिकृतदेखि उच्च पदस्थ कर्मचारीहरू बेरोजगार हुन पुगे । वर्षमा करोडका हिसाबले तलब खाने कर्मचारी हटाइए । मर्जरपछि दोहोरो शाखालाई खारेज गरियो । यसरी एकातिर खर्च कटौती, अर्कातिर आम्दानीमा उच्च वृद्धि भएको थियो ।

तै पनि धेरै बैंकहरु यस पल्ट लाभांश बाँड्न सक्ने हालतमा देखिएका छैनन् । बैंकहरुको अपरिष्कृत वित्तीय विवरण हेर्दा उनीहरूको समष्टिगत नाफामा पोहोरभन्दा बढोत्तरी नै भएको छ । सबै वाणिज्य बैंकले अघिल्लो साल ६७ अर्ब ७३ करोड नाफा आर्जन गरेकोमा गत आर्थिक वर्षमा ७० अर्ब १७ करोडभन्दा धेरै नाफा कमाएका छन् । झन्डै साढे २ अर्बको नाफा वृद्धिका बाबजुद बैंकहरुको लाभांश क्षमता निराशाजनक देखिएको छ ।

बैंकहरु आफैँले ऋणीलाई अधिक प्रिमियमको भारी बोकाउन थाल्नु र बजार अर्थतन्त्र ध्वस्त हुनुले यस्तो परिस्थिति देखिएको हो । अहिले दुई ठुला बैंकहरु सञ्चित नोक्सानीमा पुगेका छन् भने अरू ३ बैंकले लाभांश दिने अवस्था छैन । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई छाड्ने हो भने बाँकी १४ बैंकले मात्रै थोरबहुत लाभांश दिने अवस्था बनेको छ । राष्ट्रिय वाणिज्यले साढे ११ प्रतिशत लाभांश क्षमता राख्ने भए पनि यसको लाभ सरकारले मात्रै पाउने छ । सबै वाणिज्य बैंकले कमाएको कुल नाफामध्ये २१ प्रतिशतभन्दा धेरै त नबिल र ग्लोबल आईएमईले कमाएका छन् । नबिलले ७ अर्ब ५३ करोड र ग्लोबलले ७ अर्ब २५ करोड कमाएका छन् ।

एनसीसीलाई गाभेको कुमारी बैंक करिब ८५ करोड सञ्चित नोक्सानीमा देखिएको छ भने सिभिल बैंकलाई मिसाएको हिमालयन बैंक ७१ करोड हाराहारी सञ्चित नोक्सानीमा देखिएको छ । नेपाल इन्भेष्टमेण्टसँगको ‘बीग मर्जर’ तोडेर सिभिललाई मिसाउन लागेको हिमालयनले यस्तो दुर्गति यसअघि भोग्नु परेको थिएन । कुमारी त आफैँ पनि विगतदेखि धेरै राम्रो वासलात भएको बैंक होइन । नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु बैंकको वितरणयोग्य नाफा १६–१६ करोड रुपैयाँ मात्रै छ । प्राइम कमर्शीयल बैंकको वितरणयोग्य नाफा पनि २० करोड मात्रै छ ।

सबै बैंकहरुको औसत लाभांश क्षमता ११.८ प्रतिशत देखिएको छ । यो भनेको विगतमा वाणिज्य बैंकहरुले नै दिएको मुद्दती निक्षेपको ब्याजदर भन्दा कम हो । सबै बैंकले पूर्ण क्षमतामा लाभांश बाँड्छन् भन्ने पनि आधार छैन । यसले बैंकको सेयर किन्नुभन्दा तिनै बैंकमा निक्षेप राख्दा बढी लाभ हुने अवस्था देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्