विद्युत प्राधिकरणले आईपीओ जारी गर्ने तयारी, पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए ।
बिहीबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक घिसिले यस्तो बताएका हुन् । उनले भने,– प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ । साथै, प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाइएको छ ।’
सोही अवसरमा संस्थाको क्रेडिट रेटिङ इक्राबाट डबल ए प्लपस प्राप्त गर्न सफल भएको उनले बताए । ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली लगायतलाई मानक मानी कार्यसम्पादनको व्यवस्थालाई निरन्तरता दिइएको उनले बताए ।
बजेट र खर्च नियन्त्रणको लागि केन्द्रीकृत भुक्तानी एवम् अनलाइन भुक्तानी प्रणालीलाई प्रभावकारी बनाइएको उनको भनाई छ ।
गत वर्ष प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड
गत आर्थिक वर्षमा प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । तर, अघिल्ला वर्षहरुको तुलनामा भने केही प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । गत आवमा खोला तथा नदीनालाहरुमा पानीको बहाव घटेकाले विद्युत उत्पादनमा पनि कमी आएको निर्देशक घिसिङ्गले बताए ।
उनले भने–‘सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको छ ।’
प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिव ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिव १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणको संचित नाफा ११ अर्ब बाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको घिसिङले जानकारी दिए ।













