काटेको चेक नसाटिएपछि कालो सूचीमा पर्नेको संख्या २.४२ गुणाले बढ्यो, एक वर्षमै थपिए ३० हजार
काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण कर्जा सुचना केन्द्रको कालो सुचीमा पर्ने व्यक्ति तथा संस्थाको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष वर्ष २०७९/८० मा मात्रै ३० हजार १०९ जना कालो सुचीमा परेका छन् । यो अघिल्लो आव २०७८/७९ सम्मको भन्दा २.४२ गुणाले बढी हो ।
अघिल्लो आव २०७८/७९ मात्रै १२ हजार ४२२ जना कालोसुचीमा परेका छन् । त्यसभन्दा अघिको २०७७/७८ मा भने ४ हजार ४७४ जना कालोसुचीमा परेका थिए । तर, गत आवमा त्यो भन्दा उच्च दरमा कालो सुचीमा पर्नेको संख्या बढेको हो । कर्जा सुचना केन्द्रबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार कोरोनापछि आएको आर्थिक संकटकै कारण कालोसुचीमा पर्नेको संख्या बढेको देखिन्छ ।
कर्जा सुचना केन्द्रले गत आवदेखि ऋण नतिर्ने, खाली चेक दिने लगायतका वित्तिय गठी गर्ने लघुवित्त वित्तिय संस्थालाई कालोसुचीमा राख्ने नीति ल्याएको थियो । सोही आवमा लघुवित्तका ७२१ जना ग्राहक कालोसुचीमा परेका हुन् । बाँकी २९ हजार ३८८ जना ग्राहक भने बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको सिफारिसमा कालो सुचीमा राखेको कर्जा सुचना केन्द्रको भनाइ छ । योसँगै कालोसुचीमा पर्नेको संख्या ५६ हजार ३८४ पुगेको छ ।
बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटले कालोसुचीमा पर्नेको संख्या बढेको हो । आर्थिक संकटका कारण आम मानिसको आम्दानी प्रभावित छ । तर, महंगीका कारण खर्च बढेको छ । फलस्वरुप आम मानिसहरुमा नगद प्रवाह हुन सकेको छैन । त्यसले गर्दा व्यवसायी तथा ग्राहकले बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न सकेका छैनन् । सोही कारण कालोसुचीमा पर्नेको संख्या बढ्दै गएको जानकारवालाहरु बताउछन् ।
६ महिनासम्म ऋणको सावा तथा किस्ता नतिरेपछि बैंकले कोलोसुचीमा राख्न सुचना केन्द्रलाई सिफारिस गर्छन्, त्यसपछि केन्द्रले उनीहरुलाई कालोसुचीमा राख्छ । तर, पछिल्लो समय ऋण नतिर्ने भन्दा पनि पैसा नभएको चेक दिने अर्थात् चेक बाउन्स मार्फत कालोसुचीमा पर्नेको संख्या धेरै भएको बताइन्छ । तर, यसको तथ्यांक छुट्टाइएको छैन । सुचना केन्द्रका एक उच्च अधिकारीले अहिले कालो सुचीमा पर्नेमा चेक बाउन्सको घटना बढी भएको बताए ।
व्यक्ति तथा संस्थाहरुले आफ्नो उद्यारो तथा ऋण तिर्न अर्को व्यक्ति तथा संस्थालाई निश्चित मिति र रकमको चेक दिने गरेका छन् । तर, त्यो साटिने गरेको छैन । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बास्तविक रुपमा नै यस्तो समस्या आएको छ । उनीहरुले चेक त दिने गरेका छन्, तर तोकिएको अवधीमा सम्बन्धी खातामा त्यो बराबरको रकम जम्मा गर्न सकेका छैनन् । किनकी, उनीहरुको आम्दानी नै प्रभावित भएको छ । त्यसले गर्दा पनि कालो सुचीमा पर्नेको संख्या बढ्को बताइन्छ ।













