खस्किदैं टेलिकमको वित्तीय अवस्था: नाफाबाट साढे ६६ करोड गायब, बिक्री आम्दानी र इपिएस पनि घट्यो
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा खस्किएको छ । गत वर्ष टेलिकमको नाफा ६६ करोड ६२ लाख रुपैयाँले घटेको हो ।
कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवको तुलनामा कम्पनीको अधिकांश सूचक ओरालो लागेका छन् ।
समिक्षा अवधिमा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ७.८६ प्रतिशतले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको बिक्री आम्दानीमा पनि गिरावट आएको छ, जसले खुद नाफा घट्न पुगेको हो । समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत अर्थात १ अर्ब ११ करोड ५८ लाख रुपैयाँले घटेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ कायम भएको छ । तर, कम्पनीको वित्तीय आम्दानी भने दोहोरो अंकले वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१.४५ प्रतिशतले बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको अन्य आम्दानी भने ४५.३४ प्रतिशतले घटेर २९ करोड ९२ लाख रुपैयाँमा झरेको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने ४४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ कायम भएको छ । जुन, अघिल्लो आवको तुलनामा १.११ प्रतिशतले मात्रै बढी हो ।
कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषको आकार पनि अघिल्लो आवको तुलनामा केही घटेको छ । गत वर्ष कम्पनीको यस्तो कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ३ रुपैयाँ ७० पैसाले घटेर ४३ रुपैयाँ ३६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ५२१ रुपैयाँ २७ पैसा रहेको छ ।
















