अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध
काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारहरूलाई पनि आबद्ध भएको छन् । आज अर्थात् बुधबारदेखि अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा दायरा विस्तार गर्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेका हुन् ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारलाई आबद्ध गर्न ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ सरकारले स्वीकृत गरिसकेको छ । कोषले शुरूआती अवस्थामा घरेलु श्रमिक, कृषि क्षेत्रमा काम गर्ने तथा निर्माण क्षेत्र र यातायात क्षेत्रका श्रमिकलाई आबद्ध गराउने योजना बनाएको छ।

सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, स्वरोजगार श्रमिकलाई पारिश्रमिकको ३१ प्रतिशत हुन आउने रकम कोषमा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत श्रमिकहरूलाई औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रीत परिवार, सुरक्षा योजनालगायत ६० वर्षपछि बाँचुन्जेल पेन्सनको व्यवस्था गरिएको छ ।
कोषले पालिकाहरूसँग सम्झौता गर्ने र त्यस ठाउँबाट विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक श्रमिकहरू र स्वरोजगारमा रहेकाको व्यवस्थापन पालिकास्तरबाटै गर्ने योजना रहेको छ। कोषमा अहिलेसम्म ६ लाख २५ हजारभन्दा बढी योगदानकर्ता आबद्ध भइसकेका छन्।
















